INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह रोक्न बालिका बिमा

गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । ‘छोरी बचाउ छोरी पढाउ’ अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी समान हुन् भन्ने सन्देश सहित बालिका बिमा कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाले बालविवाह रोक्नका लागि गाउँपालिका अध्यक्ष बालिका बिमा योजना निर्देशिका २०८१ निर्माण गरी निर्देशिकामा व्यवस्था गरिए बमोजिम गैँडहवा गाउँपालिका र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बीचमा सम्झौता गरेको छ ।

गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बालिका बिमा इटेण्डरबाट खोलेर सम्झौता गरिएको बताउँदै बालिकाका लागि बालिका बिमा गैँडहवा गाउँपालिकामा नयाँ आयाम थपिएको बताउनु भयो । अध्यक्ष पौडेलले बालिका जन्मिएपछि छोरी जन्माएकै कारण हुने विभिन्न खालका हिंसाहरू खेप्न नपरोस् र छोरा र छोरीको समान हुन भन्ने सन्देश दिइ बालिकालाई प्रोत्साहनका लागि बिमा गरिएको बताउनु भयो । बिमा कार्यक्रमले बालिकाहरू जन्मने, हुर्कने र बढ्ने क्रममा समेत सहज वातावरणको निर्माण हुने, शिक्षित बनाइ आत्मा निर्भर बनाउन र बाल विवाह रोक्नका लागि भूमिका खेल्ने अध्यक्ष पौडेलले बताउनु भयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश उप–प्रमुख कृष्ण प्रसाद पोख्रेलले गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाका लागि सरकारको नीतिगत व्यवस्था तथा यस गाउँपालिकाले निर्माण गरेको दीर्घकालीन सोँचका लागि बालिका बिमा गाउँपालिका र बिमा कम्पनीका बिचमा सम्झौता भएको बताउनु भयो । बालिका बिमाले यस स्थानीय तहमा जन्मिएका बालिकाको अभिभावक बुबा वा आमाको जोखिम बहन हुने गरी एकल भुक्तानीमा बालिका बिमा भएको बताउँदै २० वर्ष भित्र बालिकाको बुबा वा आमा दुर्घटना वा कालगतिबाट मृत्यु भएमा कम्पनीको नियम अनुसार गाउँपालिकाको सिफारिस अनुसार बालिकालाई एक मुष्ठ भुक्तानी दिने गरी व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

सम्झौता पत्रमा गैँडहवा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा र निजहरूले रिफर गरेकामध्ये छोरी जन्मिएकालाई मात्र यस बिमा योजनामा आबद्ध गराउनुपर्ने व्यवस्था रहेको छ । यस कार्यक्रम अन्तर्गत गैँडहवा गाउँपालिका भित्रका बासिन्दालाई मात्र समावेश गराउनुपर्ने छ । २० हजार रुपियाँ मात्र एक मुष्ठ एक पटकको लागि मात्र बिमा शुल्क दिइने छ । बालिकाको उमेर २० वर्षसम्म पुग्दा अविवाहित रहेको सम्बिन्धत वडा कार्यालयको प्रमाण सहित गाउँपालिकाको सिफारिसको आधारमा मात्र बिमितलाई भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ ।

कम्पनी र गाउँपालिका बिचमा भएको सम्झौता अनुसार बालिकाको एक मुष्ठ २० वर्षका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.मा गैँडहवा गाउँपालिकाले बिमा गरेको छ । यदि बालिकाको २० वर्ष अगावै विवाह भएमा उक्त रकम गाउँपालिकाकै खातामा जम्मा हुने अर्थात् अविवाहितको सिफारिस लिएर आउनुपर्ने सम्झौतामा सर्त राखिएको छ । बालिका बिमाको मुख्य उद्देश्य भनेको बालविवाह रोक्ने रहेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा बालिका बिमाका लागि जम्मा २५ लाख बजेट बिनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

अन्य

भिडियो