सप्तरी जिल्लामा रहेका २ सय ९५ मतदानस्थलका सबै ४ सय ७८ मतदान केन्द्र नै सम्वेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२ सय ७ मतदानस्थलको तीन सय ३१ मतदान केन्द्र अति सम्वेदनशील र ८८ मतदानस्थलको १ सय ४७ मतदान केन्द्र सम्वेदनशील रहेको सप्तरी जिल्लामा कुनै पनि मतदान केन्द्र सामान्य नरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।
स्थानीय तहको निर्वाचनमा समेत २ सय ९५ मतदानस्थलको ४ सय ६२ मतदान केन्द्र नै सम्वेदनशील र अति सम्वेदनशील रहेको थियो । आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि १६ ओटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सप्तरीमा निर्वाचनलाई लक्षित गरी ३ हजार १ सय ६० म्यादी प्रहरी, करिब २ हजार नेपाल प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र त्यस्को पछाडी नेपाली सेना पनि परिचालन हुने जनाउँदै सुरक्षा अनुगमनका लागि करिब ३६ ओटा मोबाइल गाडीले गस्ती गर्ने एसपी सिंहले बताए ।
जिल्लाका सबै केन्द्रहरूमा सुरक्षा व्यवस्था मजबुद पारिने र जनशक्ति थप गरेर पर्याप्त मात्रामा गस्ती टोली परिचालित गरिने योजना बनाइएको एसपी सिंहले बताए । एसपी सिंहका अनुसार प्रत्येक मतदान स्थलमा सई वा असईको नेतृत्वमा न्यूनतम ११ जना प्रहरी खटाइने छ ।