तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले गाउँमा २०३५ सालमा निर्माण गरिएका चार ओटा सार्वजनिक खानेपानीका धारा छन् । दैनिक चार घण्टा पानी आउने धाराबाट पानी खाइरहेका छन् । कहिले काहीँ धारामा पानी नआउँदा एक घण्टा टाढा दुरीमा रहेको तिला नदिको दुषित पानी खानुपर्ने बाध्यता छ ।

४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदै छ । मूल पनि सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो । गाउँमा खानेपानीकै विषयमा दैनिक जसो मनमुटाव र झगडा हुने गरेको छ । रारागाउँको तलपट्टी कर्णाली राजमार्गको जुम्ला सडक खण्ड छ । सडक मुनि तिला नदी अनवरत बगिरहेको छ । तर, नदीमा पिउन योग्य पानी बग्दैन । रारा गाउँ वरिपरि पर्याप्त उर्वर जमिन छ । पानी अभावले रारागाउँ नै मरुभूमि बनेको छ । ‘घरवरिपरिका करेसाबारी बाँझै छन्, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने जमिन छ, तर सुक्खा छ । नदीको पानी खेर गइरहेको छ । सुक्खा जमिनमा उभिएर तिला नदी हेरेर बस्छौँ’, स्थानीय धनराज रावतले भन्नुभयो ।
रारा गाउँमा २ सय ६८ घरधुरी र १ हजार ६ सय २६ जनसङ्ख्या छ । शुद्ध पानीको मुहान नहुँदा ‘एक गाउँ, एक वडा’ भएको रारागाउँका नागरिकले दैनिक समस्या भोगिरहेका छन् । यही गाउँलाई प्रयाप्त खानेपानीको पहँचमा ल्याउनका लागि १४ वर्ष पहिले सङ्घीयता अघि बृहत खानेपानी आयोजना निर्माण थालिएको थियो । त्यो आयोजना पनि सफल नभएर नागरिकले खानेपानी खान पाएनन् । अहिले पनि असफल आयोजनाका जिआइ पाइपलगायत निर्माण सामग्री तिला गाउँपालिका–८, पुरुगाउँको खोलामा लथालिङ्ग फालिएको छ ।
खानेपानीको पहिलो आयोजना असफल भएपछि त्यो आयोजना रद्द गरी गत आर्थिक वर्ष २०८/८१ देखि दोस्रो आयोजना सुरु गरिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गतवर्ष आयोजनाको २ करोड रुपियाँको बजेट हो । ७० लाख ठेकेदारले पेश्की रकम लिए । अरु बजेट १ करोड ३० लाख रुपियाँ फ्रिज भयो । गत वर्षको असारमा ठेकेदारले ७० लाख बजेट पेश्की लिए पनि खानेपानी आयोजनाको काम सुचारु गरेका छैनन् ।’
रारा गाउँ खानेपानी आयोजना ४ करोड बजेटमा तीन वर्षमा आयोजना सम्पन्न गर्ने गरी गत वर्षको असारमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसँग सम्झौता भएको हो । गाउँमा तीन वर्षभित्र खानेपानी पुर्याउने गरी सङ्घीय सरकार, राष्ट्रिय योजना आयोग, गैरसरकारी संस्था यूएनडीपी र गाउँपालिकाको संयुक्त लगानीमा खानेपानीको योजना निर्माण गर्न थालिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनु भयो ।
तिला गाउँपालिकाका प्राविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईका अनुसार ०८० असार ११ गते ठेक्का सम्झौता भएको हो । निर्माण व्यवसायीले असार २१ गते मात्रै पेश्की रहेका लिएका हुन् । भदौ महिनामा निर्माण साम्रगी पाइप ल्याउनुपर्ने हो । बाढीपहिरोले सडक पटक पटक अवरुद्ध हुँदा सामग्री ल्याउन सकेनन् । उहाँले भन्नुभयो, ‘असोज १० गते खानेपानीको पाइप खन्ने लाइन दिएका छौँ । अब पाइपको लाइन खन्न सुरु हुन्छ । दुई वर्षमा खानेपानी आयोजना सम्पन्न गर्ने तयारी गरिएको छ ।’
शिवदेउती, सुलोचना, बजु जेभीका निर्माण व्यवसायी दिनेशराज उपाध्यायका अनुसार गत वर्षको असारमा ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौतापछि ७० लाख बजेट पेश्की लिएका निर्माण व्यवसायी उपाध्यायको भनाइ छ । चालु आर्थिक वर्षको भदौमा वर्षातका कारण काम हुन सकेन । उहाँले भन्नुभयो, ‘अब दसैँपछि आयोजनाको काम सुचारु गर्ने तयारी गरेका छौँ । ठेक्का सम्झौता भएको समय अगाबै दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’