नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनको राप्ती अञ्चल व्यूरो सदस्य २३ वर्षीय दिपक विष्ट र पार्टी जिल्ला कमिटी सदस्य ३३ वर्षीय मोतिराम खड्कालाई कात्तिक २२ दिउँसो खलङ्गा बजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन खारेज अभियान सञ्चालन गर्दै विभिन्न स्थानमा कालोझण्डा प्रदर्शन गर्नेलगायतका गतिविधि गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का इन्स्पेक्टर थम्मनबहादुर रजालीले बताए ।
‘दलाल संसदीय व्यवस्था-मुर्दाबाद !’ लेखिएको व्यानर उनीहरूले कात्तिक १८ गते मुसिकोट नपा-५ सेरीगाउँस्थित विना विभागीय मन्त्री जनार्दन शर्माको घरमा टाँगेको प्रहरीले जनाएको छ । यससम्बन्धी थप अनुसन्धानपछि मुद्दा प्रक्रिया अगाडि बढाइने प्रहरी इन्स्पेक्टर रजालीले बताए ।