प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभामा निर्धारण गरिएको मतदान केन्द्रहरूमध्ये सुरक्षाको दृष्टिकोणले ३५ मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ ।
जिल्लामा १ सय ५३ मतदान केन्द्रमध्ये ३५ मतदान केन्द्र अति सम्वेदनशील, २८ सम्वेदनशील र ९० मतदान केन्द्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।
भौगोलिक विकटता, दलीय अस्वस्थ्य प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यतालगायतका विषयलाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर सोही अनुसार मतदान केन्द्रलाई सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
‘अति सम्वेदनशील र सम्वेदनशील केन्द्रको सुरक्षा चुनौती हेरेर सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।’-प्रमुख जिल्ला अधिकारी जोशीले भने ।
पहिलो चरणमा हुने सङ्खुवासभाको निर्वाचनमा करीब ३ हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।