आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्तासँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गर्न थालेका छन् ।

सप्तरीको क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सोही क्षेत्रको प्रदेश सभा २ का उम्मेदवार राजपा, नेपालका महामन्त्री मनिषकुमार सुमनको तस्विर र चुनाव चिन्ह अङकित रङ्गीविरङ्गी फ्लेक्स व्यानर कात्तिक १९ गते राजविराज नपा-७ स्थित गजेन्द्र चोकको चारैतिर झुण्ड्याइएको छ ।
निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ ‘झ’ मा निर्वाचनसम्बन्धी प्रचारप्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायतको कुनैपनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।
यस विषयमा अधिकारकर्मीहरूले जानकारी गराएकोमा आचारसंहिताको उल्लङ्घन नहोस भनेर सचेत रहेको र निगरानी गरिरहेको भन्दै मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले आचारसंहिता उल्लङ्घन भएमा आयोगमा प्रतिवेदन पठाई आवश्यक दण्डात्मक निर्णय गरिने बताए ।