प्रहरी हिरासतबाट फरार भएका थुनुवाहरू मध्ये चार जनालाई ०८१ असोज ८ गते बिदेह नगरपालिकासँग जोडिएको भारतको इटहर्वास्थित धान खेतमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पुन: गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन फोडी ०८१ असोज ६ गते बिहान फरार भएका लागू औषध मुद्दाका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२० रूपैठाका २५ वर्षीय अमित कुमार झा, धनौजी गाउँपालिका-७ का ३२ वर्षीय रन्जित मण्डल, जनकपुरधाम उपमहानगरपालिका-४ का १७ वर्षीय विशाल मुखिया र अभद्र व्यवहार घटनामा थुनामा रहेका जनकपुरधाम उपमहानगरपालिका-१ का १८ वर्षीय सुमित मेस्तरलाई प्रहरीले असोज ८ गते बिहान भारतको इटहर्वाबाट धान खेतमा लुकिछिपी बसिरहेको अवस्थामा पुन: गिरफ्तार गरेको छ ।
अन्य आरोपितहरू सिराहा जिल्लाको सिराहा नगरपालिका-१३ का ३३ वर्षीया रोशन मण्डल, जनकपुरधाम उपमहानगरपालिका-४ का २२ वर्षीय बिक्की कार्की, अभद्र व्यवहार मुद्दाका आरोपित औरही गाउँपालिका-२ का २३ वर्षीय अभास्कर कुमार यादवलाई औरही गाउँपालिकाको मैनाथपुरबाट र जलेश्वर नगरपालिका-५ का २८ वर्षीय सत्यम झालाई जनकपुरधामस्थित जनकचोकबाट असोज ७ गते प्रहरीले गिरफ्तार गरेकाे थियाो ।
पुन: गिरफ्तार गरिएका आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई थप अनुसन्धान गरिरहेको र यसै विषयमा मधेस प्रदेश प्रहरी कार्यालयमा असोज ८ गते बैठक राखिएको अपराध अनुसन्धान शाखाका वरिष्ठ हवलदार सन्तोष चौधरीले जानकारी दिनुभयो ।