निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनलाई व्यवस्थित र सहज बनाउने उद्धेश्यले कात्तिक १८ गते काठमाडौँमा मतदान एवम् मतगणना प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
मतदान एवम् मतगणना प्रशिक्षणमा क्षेत्रीय निर्वाचन अधिकारी, जिल्ला निर्वाचन अधिकारीसहित आयोगका अधिकृतहरूको समेत सहभागि रहेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।
प्रशिक्षणको उदघाटन गर्दै आयोगका निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन सञ्चालन गर्ने कार्य ठुलो व्यवस्थापकीय जिम्मेवारीको कार्य भएकाले सहभागिहरूलाई गम्भिर भएर आ-आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक रहेको बताए ।
‘प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन एकै पटक सञ्चालन हुन्छ । मतदाताले तीन ओटा मतपत्रमा चार ठाउँमा मत सङ्केत गरी बेग्लाबेग्लै तीन ओटा मतपेटिकामा मतपत्र खसाल्नुपर्ने हुन्छ ।’-दाहालले भने-‘यस्तो अवस्थामा मतदान कार्यमा खटिने कर्मचारीलाई बढी होसियारीका साथ जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यक छ ।’
निर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले समेत हेरिरहेको बताउँदै उनले कार्यक्षेत्रमा खट्ने सहभागीहरूलाई थप मेहनत र लगनका साथ कार्य गर्न निर्देशनसमेत दिएका छन् । उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटेर निर्वाचन स्वच्छ, मर्यादित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक रहेको उनले बताए ।