
गोलबजार नगरपालिका-२ का ५५ वर्षीय दावानल अनलाइनका सम्पादक अर्जुन थपलियाको घरमा ढुङ्गामुढा गरेको घटनाको राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख बुध नारायण सहनी, इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार, महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी साह, मुक्ति नेपालका संयोजक धिरेन्द्र साह लगायतका टोलीले ०८१ असोज ४ गते अनुगमन गरेको छ ।
पीडित सञ्चारकर्मी थपलियाले ०८१ भदौ २८ गते राति २ बजे नम्बर नखुलेको गाडीमा आएका व्यत्तिहरूले बियरको खालि बोतलले घरको झ्याल, छानामा प्रहार गरेको र ढुङ्गा हानी घरको छाना, झ्याल, भित्तामा क्षती पुर्याएको बताउनु भयो । गोलबजार नगरपालिकाको बेथिति र भ्रष्टाचारको समाचारहरू अनलाईनमा प्रकाशन गरिरहेकोले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले फोन मार्फत आफूलाई गोली हान्ने धम्की दिएको पीडित पत्रकारले बताउनु भयो ।
प्रमाण सहित समाचार प्रकाशण गरेको र स्वार्थ पुरा नहुने भएकोले गोलबजार नगरपालिकाका नगर प्रमुखका छोरा गोलबजार नगरपालिका-७ का २७ वर्षीय सुमित श्रेष्ठ, गोलबजार नगरपालिका-२ का ३१ वर्षीय उदय सिंह र अन्य पहिचान नखुलेकाहरूले आफ्नो घरमा आक्रमण गरेको सञ्चारकर्मी थपलियाको भनाइ रहेको छ ।
“म लगायत मेरो परिवार घरबाट बाहिर आएको भए हाम्रो ज्यान पनि लिन सक्ने बताउनुहुँदै घटनापश्चात आफूले हल्ला गर्दा गाउँलेहरू आउन थालेपछि उनीहरू भागेको र आफूले अनुसन्धान गर्दै जाँदा आरोपितहरूनै भएको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय गोलबजारमा अपराधिक प्रवेश तथा अपराधिक उपद्रव कसुरमा असोज ३ गते उजुरी दिएको”– उहाँले बताउनु भयो ।
राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश प्रमुख सहनीले समाचार लेखेकै काराण सञ्चारकर्मीमाथि आक्रमण हुनु दुःखद रहेको बताउनु भयो । राज्यले सबै नागरिकको सुरक्षा गर्नु पनि मानवअधिकारको रक्षा गर्नु हो बताउनु हुँदै इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर गोविन्द प्रसाद साहलाई घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र पीडितको सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भयो ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर गोविन्द प्रसाद साहले घटनाको जानकारी हुनासाथ प्रहरीलाई रातिनै परिचालन गरेको बताउनु भयो । पीडितले आरोपितविरुद्ध उजुरी दिएको र घटनाको अनुसन्धान गरिरहेको इन्सपेक्टर साहले जानकारी दिनु भयो ।
