ताँजाकोट गाउँपालिका-२ मासपुरका स्थानीयबासीले पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने माग गरेका छन् ।
विगतका निर्वाचनमा आफूहरूको मतदान केन्द्र हिमालय प्रावि मासपुरमा भएको बताउँदै यसपटक उक्त मतदान केन्द्र निर्वाचन आयोगबाट छुटाएको स्थानीयबासी धर्मजित शाहीले आरोप लगाए ।
मतदान केन्द्र अपायक ठाउँमा भएको भन्दै ताँजाकोट गाउँपालिका-१ का स्थानीयबासीले कात्तिक १३ गते जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
यस अघिका सबै निर्वाचनमा हिमालय प्राविमा मतदान केन्द्रमा भोट हाल्दै आएको भएपनि यस वर्षसो मतदान केन्द्र नभएपछि स्थानीयबासीले आपत्ति जनाएका हुन् ।
उक्त मतदान केन्द्र पुनः स्थापना नभए मासपुर गाउँका करिब ४ सय ३० जना मतदाता झण्डै चार घण्टाको पैदल हिँडेर मैला गाउँको जनकल्याण आधारभूत प्रावि मतदान केन्द्रमा गएर मतदान गर्नुपर्ने स्थानीयबासी धर्मजित शाहीले गुनासो गरे ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले भने सो मतदान केन्द्र पुनः स्थापनाका लागि निर्वाचन आयोगमा पहल गर्ने आश्वासन दिए । मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माका अनुसार पायक पर्ने स्थानमा मतदान केन्द्र पुनः स्थापनाका लागि केन्द्रीय निर्वाचन आयोगमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।