सिमकोट गाउँपालिका–८ का ११ वर्षीय बालकलाई डेङ्गु देखिएपछि उपचार हुन नसकेर जिल्ला बाहिर रिफर गरिएको छ । गत भदौ २८ गतेदेखि डेङ्गुको सङ्क्रमणले थला परेका बालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेको र अस्पतालमा स्रोत साधन नभएपछि असोज ४ गते जिल्ला अस्पताल हुम्लाले जिल्ला बाहिर रिफर गरेको बिरामी बालकका बुबा विक्रम शाहीले गुनासो गर्नुभयो ।
करिब एक सातादेखि जराे आउने, श्वासप्रश्वासमा समस्या देखापरेपछि बालकलाई जिल्ला अस्पतालमा पुर्याएपछि अस्पतालमा पर्याप्त स्रोत साधन नभएको भन्दै अस्पतालले जिल्ला बाहिर रिफर गरेको शाहीले गुनासो गर्नुभयो । अत्यधिक ज्वरो आएपछि अस्पताल भर्ना गरिएका बालकको श्वास परीक्षण गर्दा डेङ्गु पुष्टि भएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले बताउनु भयो । उहाँले डेङ्गुको सङ्क्रमण देखिएकोले जिल्ला अस्पतालमा पर्याप्त स्रोतसाधन नभएपछि जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा रिफर गर्न बाध्य भएको बताउनु भयो ।
तर हुम्लामा पहिलो पटक डेङ्गुको बिरामी पुष्टि भएको छ । जरो आउने र रुघाखोकी लागेपछि बालकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको र उहाँको घरको आर्थिक अवस्था नाजुक भएकोले जिल्ला बाहिर लैजान समेत कठिनाइ भएको बालकका बुबाले गुनासो गर्नुभएको छ । जिल्लामा नियमित रूपमा हवाई सञ्चालन नहुनु र घरको आर्थिक अवस्था कमजोरी भएका कारण बालक हालसम्म जिल्ला अस्पतालमै थन्कीनु परेको आफन्तले जानकारी दिएका छन् ।