जिल्लाको भारतीय सिमावर्ती सुस्ता गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ लाई प्रयोगमा ल्याउँदै सञ्चालन गरेको ‘छोरी सुनौलो भविष्य‘ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
सुस्ता गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी सुनौलो भविष्य’ कार्यक्रम अन्तर्गत छोरी जन्मिएको खण्डमा जन्मदर्ता बने लगत्तै २५ हजार रुपियाँको मुद्दती खाता खोली सञ्चालन गरेपछि दिन प्रतिदिन यो कार्यक्रमको सार्थकता बढ्दै गएको छ । छोरा जन्मिदा खुसी हुने र छोरी जन्मिदा खुसी प्रकट नगर्ने समाजिक परम्पराको परिप्रेक्ष्यमा यो कार्यक्रमले छोरीप्रतिको धारणामा सकारात्मक परिवर्तन ल्याई लैगिंक समानताको पक्षमा सकारात्मक भूमिका खेलेको छ ।
यस कार्यक्रम सञ्चालनमा आएपछि आर्थिक वर्ष ०८०/८१ मा १ सय ६३ जनाले उक्त सुविधा प्राप्त गरेको र ०८१/८२ को सुरुको साउन र भदौ महिनामा ३९ जनाले यस कार्यक्रमबाट लाभ लिएको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक गीता चौधरीले इन्सेकलाई जानकारी दिनुभयो । साथै, यो कार्यक्रमलाई स्थानीय सञ्चार माध्यमको सहयोगमा सम्पूर्ण स्थानीय तहबासीको जानकारीमा ल्याउने प्रयास पनि भइरहेको चौधरीले बताउनु भयो ।
सुस्ता गउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले यो कार्यक्रमले आफ्नो सुरुवाती वर्षहरूमै सकारात्मक प्रभाव छोडेको, छोरी जन्मिँदा गरिने जन्मदर्ताको अभिलेखमा उल्लेख्य वृद्धि भएको र शिशु छोरीहरूको शैक्षिक भविष्यमा पनि टेवा पुर्याउने भएकाले यस कार्यक्रममा आगामी आर्थिक वर्षदेखि अझ सशक्त बनाउने बताउनु भयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्मलाई आत्मसात् गरी यसमा तर्जुमा गरिएका अधिकार र समावेशितासँग सम्बन्धित दफाहरूलाई स्थानीय सरकारले प्रयोगमा ल्याइ अन्य कार्यक्रमहरू पनि सञ्चालनमा ल्याइ कार्यन्वयन गरेको खण्डमा स्थानीय सरकारहरू मानव अधिकार संरक्षणको क्षेत्रमा कोशेढुङ्गा कायम गर्न सक्षम हुनेछन् ।