INSEC Online

📅 २०८३ जेष्ठ २२

स्थानीय तहमा रिक्त पदका लागि मङ्सिरमा उप-निर्वाचन, बागमती प्रदेशका सात ठाउँमा निर्वाचन हुने

निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहमा निर्वाचनका लागि सरकारलाई सिफारिस गरेकै दिन मन्त्रीपरिषदको बैठकले ०८१ मङ्सिर १६ गते रिक्त रहेका स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले भदौ ३० गते सरकारलाई स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचन गर्नका लागि मिति सिफारिस गरेको थियो ।

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३ ले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनमा सरकारलाई आयोगले परामर्श दिनुपर्ने व्यवस्था गरेकाले परामर्श दिइएको निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बताउनु भयो ।

बागमती प्रदेशका दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, काठमाडौँको किर्तिपुर नगरपालिका प्रमुख, किर्तिपुर नगरपालिकाकै वडा नं १ र ४ का वडाध्यक्ष, काठमाडौँ महानगरपालिका वडा नं १६ का वडाध्यक्ष, नुवाकोटको ककनी गाउँपालिका वडा नं २ का वडाध्यक्ष र मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२ का वडाध्यक्ष पदका लागि लागि निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामङको हृदयघातका कारण निधन भएपछि सो पद रिक्त भएको हो । त्यसैगरी मिर्गौलासम्बन्धी रोगबाट पीडित किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएपछि सो पद रिक्त भएको हो । तामाङ र नकर्मी दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि थिए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था छ ।

अन्य

भिडियो