INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला सदरमुकाममा खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

जिल्ला सदरमुकाम, चैनपुरमा खानेपानीको अभाव हुँदा यस क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको छ ।

सदरमुकाम बजारमा दिनको दुई पटक वितरण गरिदै आएको पानी एक महिनादेखि नआएपछि स्थनीयहरुले सास्ती खेप्नुपरेको हो । बिहानबेलुका आउने खानेपानी एक महिनादेखि नआएपछि आफूहरु बिहान उठ्नेबित्तिक्कै पानी लिन सेतीनदी जाने गरेको स्थानीयबासी राजबहादुर सिंहले दुखेसो पोख्नु भयो ।

photo20240916bajhang (1)

धारामा पानी नआउदा खाना पकाउन, नुहाउन र भाँडाकुँडा धुन समस्या भएको तथा फोहर पानी समेत खानु पर्ने बाध्यता रहेको सिंहको भनाइ छ । पढाइको सिलसिलामा सदरमुकाम चैनपुरमा बस्दै आएका डेरावालालाई पनि थप समस्या हुने गरेको छ । होटल व्यवसायी रामजन चौहानले भन्नुभयो, ‘धारामा पानी नआउदा आधा घण्टा हिँडेर पालो कुरेर पानी ल्याउने गरेका छौँ ।’

खानेपानी नआएपछि होटलमा भाडा धुन र शौचालयमा प्रयोग गर्न समेत समस्या भएको छ । ‘त्यति मात्रै नभएर कोठामा पानी नआएको महिनाै भइसक्यो, सेती नदीबाट पानी ल्याएर कहिले बिहान त कहिले बेलुका खाना खाने गरेका छौँ ।’ सदरमुकाममा बस्दैआउनुभएका रविना सिंहले दु:खेसो पाख्नु भयो ।

धारामा खानेपानी नआउदा सदरमुकामबासी बाउली खोला र सेती नदीको फोहोर पानी पिउन बाध्य हुनपरेको मष्टा घर भई हाल चैनपुरमा होटेल व्यवसाय गर्दै आउनुभएका माधव जोशीले बताउनु भयो । उहाँका अनुसार होटलमा खाना पकाउन र ग्राहकलाई हातमुख धुन र पानीको अभावमा शौचालय प्रयोग  गर्न समेत समस्या भएकोले होटेल नै बन्द गर्नु परेको उहाँको भनाइ छ ।

photo20240916bajhang (2)

भोपुर जाने सडकमुनी बारम्बार पहिरो जाँदा पाइपमा क्षति पुगेकाले खानेपानी वितरण गर्न नपाएको चैनपुर साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनु भयो । पाइपलाइन मर्मतका लागि जनशक्ति नहुँदा र विधुतको वैकल्पिक व्यवस्था नगरेसम्म खानेपानी वितरणमा समस्या आइरहने उहाँको भनाइ छ ।

विधुत नियमित नहुँदा र पहिरोले खानेपानीको पाइप बगाउदा उपभोक्ता मारमा परेकाले खानेपानी उपभोक्ता समितिलाई छिटोछरितो मर्मत गरी पानी सञ्चालन गर्नका पहल गरिएको र वर्षात कम हुनेबित्तिकै केही दिनमा खानेपानी नियमित सञ्चालनमा आउने जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले बताउनु भयो ।

अन्य

भिडियो