मुगु जिल्लाको सोरु गाउँपालिका–९, कालैगाउँकी २२ वर्षीया किशोरीले १६ वर्षकै उमेरमा विवाह गर्नुभयो । १७ वर्षमा बच्चा जन्माउनुभयो । अहिले २२ वर्षको हुँदा उहाँका तीन सन्तान छन् । सानै उमेरमा विवाह गरेर पारिवारिक बोझ बढ्नुका साथै स्वास्थ्य समस्याले सताइरहेको भन्दै उहाँ चिन्तित हुनुहुन्छ ।
कर्णालीका जिल्लाहरूमा सानै उमेरमा विवाह गर्ने गरेका महिलाहरूका समस्या सबैको उहाँको जस्तै छ । बालविवाह गर्नेहरूले केही न केही स्वास्थ्य तथा सामाजिक समस्याहरू भोगिरहेका छन् । ‘विवाहवारी २० वर्ष पारी’ भन्ने नेपाल सरकारको नारा र कानुनी प्रावधान भए पनि मुगु लगायत कर्णालीका अन्य जिल्लाहरूका ग्रामीण गाउँबस्तीमा अहिले पनि २० वर्षभन्दा कम उमेरमा विवाह गरेका बाल आमाहरू जताततै भेटिन्छन् ।
धार्मिक अन्धविश्वास, सामाजिक परम्परा र देखासिकीले पनि ग्रामीण भेगमा बालविवाह रोक्न सकिएको छैन । कर्णाली प्रदेशका जिल्लामा बालविवाह तथा छाउपडी प्रथाले गहिरो जरो गाडेको छ । धार्मिक अन्धविश्वासले गर्दा कर्णाली प्रदेशका जिल्लामा कुप्रथाले जरो गाडेर मात्र बसेका छैनन्, बालविवाह तथा छाउपडी प्रथा जस्ता कुप्रथाका कारण महिलाको स्वास्थ्य समस्या विकराल बन्दै गएको छ । पछिल्ला दिनमा कर्णाली प्रदेशका शहरी क्षेत्रमा बालविवाह हुने क्रम विस्तारै कमहुँदै गए पनि ग्रामीण दुर दराजका गाउँबस्तीहरूमा भने बालविवाह, छाउपडी प्रथा अझै घट्न सकेको छैन । कर्णाली प्रदेशमा अहिले पनि छाउपडी प्रथा व्याप्त छ । धार्मिक अन्धविश्वास पुरातानवादी सोचले अझै पनि बालविवाह गर्ने, छाउपडी बार्ने प्रचलनले किशोरी, महिलाहरूको स्वास्थ्य समस्या तथा हिंसाको शिकार बन्न पुगेका छन् ।
बालविवाह तथा छाउपडी प्रथाले गर्दा किशोरी तथा महिलामा शारीरिक समस्यासँगै मनोवैज्ञानिक असर समेत पर्ने गरेको छ । चेतनास्तर कम भएकाले सानै उमेरमा बालविवाह गर्दा महिलाहरूको आर्थिक अवस्था कमजोर बन्नुका साथै शारीरिक समस्या पनि उत्तिकै देखिने जिल्ला अस्पतालका स्वास्थ्यकर्मी जानकी शाह बताउनुहुन्छ । शाह भन्नुहुन्छ – ‘बालविवाह गर्दा किशोरी तथा महिलाहरूमा शारीरिक समस्या त हुन्छ नै, मानसिक तथा सामाजिक रूपमा पनि समस्या पर्छ । बालविवाह न्यूनीकरण गर्न शिक्षा, स्वास्थ्य तथा रोजगारले पनि उत्तिकै अर्थ राख्ने गर्दछ । त्यसले यसतर्फ सरोकारवाला निकायहरूले ध्यान दिन जरुरी छ ।’
छाउपडी प्रथाले गर्दा महिलाहरू शारीरिक, स्वास्थ्य, मानसिक, शैक्षिक समस्याहरू भोग्न बाध्य भएको स्थानीय महिला सकुन्तला बढुवाल बताउनुहुन्छ । उहाँका अनुसार धार्मिक मान्यता, पुरातानवादि सोँच, सामाजिक कुसंस्कार र आफूमा आत्मविश्वास नहुँदा छाउ भएका बेला महिलाहरू आफै घर बाहिर बस्ने र छाउ बार्ने गर्दछन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका–१४, बाम गाउँमा छाउपडी प्रथासँगै तीन वर्षको अवधिमा ६२ जनाले बालविवाह गरेको वडाध्यक्ष जुनबहादुर खड्काले बताउनु भयो । अब स्थानीय सरकारले बालविवाह, छाउपडी प्रथा अन्त्य गर्नका लागि विशेष अभियान चलाउने र वडाको सिफारिका आधारमा मात्र विवाह गर्न लगाउनुका साथै बालविवाह र छाउपडी प्रथा मुक्त वडा बनाउने आफ्नो योजना रहेको वडाध्यक्ष खड्काले बताउनु भयो । उहाँले भन्नुभयो – ‘स्थानीय तह र विभिन्न सङ्घ संस्थाको सहकार्यमा युवा, महिला, बालबालिकालाई लक्षित गर्दै समुदाय र विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, पाठेघर खस्ने समस्या, बालविवाह, छाउपडी प्रथाका बारेमा सचेतना दिँदै आएका छौँ ।’
