इलाम जिल्ला, सूर्योदय नगरपालिक-१० फिक्कल स्थायी घर भइ विर्तामोड नगरपालिका-५ पाथीभरा टोलमा बस्दै आउनु भएकी १९ वर्षीया मनिषा लोहारको हत्या गरेको आरोपमा प्रहरीले कैलाली जिल्ला, गौरीगङ्गा नगरपालिका-३ का २० वर्षीय अनिल विकलाई गिरफ्तार गरेको छ ।
अर्जुनधारा नगरपालिका-६ विर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा ०८१ भदौ २८ गते छुरा प्रहार गरी मनिषाको हत्या गरेको आरोपमा प्रहरीले विकलाई सोही दिन गिरफ्तार गरेको हो ।
मनिषासँग आरोपित प्रेमसम्बन्धमा रहेको र सम्बन्धमा दरार आएपछि आरोपितले मनिषालाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
छुरा प्रहारबाट घाइते हुनु भएकी मनिषाको वि एण्ड सी अस्पतालमा उपचारका क्रममा भदौ २८ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी मिलन केसीले बताउनु भयो ।
मनिषालाई छुरा प्रहार गरेलगत्तै स्थानीयले अनिललाई नियन्त्रणमा लिएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते अनिलको मेची प्रादेशिक अस्पताल, भद्रपुरमा उपचार भइरहेको छ ।
शवको पोष्टमार्टम मेची प्रादेशिक अस्पतालमा भदौ २९ गते गरी पीडित परिवारले शव बुझेको छ ।