जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप अत्यधिक बढ्न थालेपछि औषधि किन्न निजि मेडिकल धाउनु पर्ने बाध्यता भएको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालले धान्न नसक्ने गरी बिरामी उपचारका लागि पुग्ने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनु भयो ।
मौसमी बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालमा बिरामी राख्ने शैयाको पनि अभाव हुन थालेको अनमी बोहराको भनाइ छ । उहाँका अनुसार १५ शैयाको क्षमता भएको जिल्ला अस्पतालमा एक सातादेखि बिरामी बढी भर्ना हुँदा प्रसुती गृह लगायतका वार्डमा समेत बिरामीलाई राख्ने गरेको अनमी बोहराले जानकारी दिनुभयो ।
उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दा भर्ना भएर डिस्चार्ज भएका कतिपय बिरामीलाई पनि पुनः अस्पतालमै भर्ना गर्नुपर्दा समस्या हुने गरेको छ । वर्षायाममा हुने मौसम परिवर्तन लगायतका कारण जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या बढेपछि बेडको अभाव भएको छ ।
जिल्ला अस्पतालमा धेरै जसो मौसमी रुघाखोकी, ज्वरोको सङ्क्रमित बिरामीहरू आउने गरेको अस्पतालका डा. सुनिल पुजाराले बताउनु भयो । यो समय बालबालिकाहरूमा पनि ज्वरोको समस्या बढी देखिएको डा. पुजाराले उल्लेख गर्नुभयो । जिल्ला अस्पतालमा दैनिक १ सय ५० जना बिरामी औषधि उपचार गर्दै आएका छन् । जसमा सबैभन्दा बढी ज्वरोका बिरामी, झाडापखाला, निमोनिया र ग्याष्ट्रिक लगायतका बिरामीले उपचार गराएको जिल्ला अस्पतालका डा. पुजाराले बताउनु भयो ।
जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँका ठेहे, दा्जाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, याँचु, माजा, छिप्रा लगायतका गाउँबाट पुग्ने गरेका छन् । अहिले जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि सेवाग्राहीले निजि मेडिकलबाट औषधि किन्नु पर्ने बाध्यता रहेको सेवाग्राही ऐटन रावलले गुनासो गर्नुभयो । उहाँका अनुसार आफ्नो छोरालाई कडा खाले ज्वरो आएर जिल्ला अस्पताल लैजाँदा निजि मेडिकलबाट औषधि किन्नु परेको गुनासो गर्नुभयो ।
