INSEC Online

📅 २०८३ जेष्ठ २१

डेङ्गी नियन्त्रणको अभियान प्रभावकारी नहुँदा जिल्लाभर फैलिँदै

डेङ्गी नियन्त्रणको अभियान प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा जिल्लाभर फैलिएको छ । जिल्लामा डेङ्गी सङ्क्रमण तीव्र रूपमा फैलिए पनि नियन्त्रणका लागि उचित कार्यक्रम हुन नसकेको सरोकारवालाहरूको भनाइ छ ।

जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू, स्थानीय तह, जनप्रतिनिधि र अन्य सरोकारवाला निकायले डेङ्गी नियन्त्रणका लागि उचित अभियान सञ्चालन गर्न नसकेको स्थानीय युवा कमल भण्डारीले बताउनु भयो ।

पाल्पामा यो वर्ष हालसम्म १ सय ४७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । एक महिनाअघि ५० जनामा मात्र डेङ्गी सङ्क्रमण भएकोमा अहिले बढेर १ सय ५० बढी पुगेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले बताउनुभयो । उहाँले भदौ लागेसँगै दैनिक चार जनामा डेङ्गी पुष्टि भएको उहाँले बताउनु भयो ।

डेङ्गी सङ्क्रमित हुनेमा पाल्पाका मात्र ९४ जना रहेका छन् । बाँकी अन्य जिल्लाका व्यक्ति विभिन्न अस्पतालमा उपचाररत रहेको उहाँले बताउनु भयो । पाल्पा लुम्बिनी प्रदेशभरीका १२ जिल्लामध्ये सबैभन्दा बढी प्रभावित जिल्लाको रूपमा रहेको उहाँले बताउनु भयो । डेङ्गी सङ्क्रमण फैलाउने जातको लामखुट्टेका लागि उपयुक्त वातावरण बनेकाले सङ्क्रमण बढेको स्वास्थ्यकर्मीको भनाइ छ । गत वर्ष जिल्लामा कुल ६ सय ५५ जनामा सङक्रमण पुष्टि भएको थियो ।

डेङ्गी एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेङ्गीको सङ्क्रमण भएमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

अन्य

भिडियो