राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ । ०८१ वैशाखदेखि नै मेसिन बिग्रिँदा सेवा अवरुद्ध भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदम अधिकारीले जाकानरी दिनुभयो ।
मेसिन मर्मतका लागि पहल गरेको तर १ करोड १५ लाख रुपियाँ मर्मत खर्च लाग्ने सम्बन्धित कम्पनीले स्टिमेट पठाएपछि आर्थिक अभावमा मर्मत गर्न नसकिएको मेसु डा. अधिकारीको भनाइ छ । ‘मर्मत गर्न अस्पतालसँग आर्थिक छैन, मर्मतका लागि लुम्बिनी प्रदेश सरकारसँग आग्रह गरेका पनि छौँ । मर्मत खर्च जुटाउन नसक्दा सेवा बन्द गर्नु परेको छ’, मेसु अधिकारीले भन्नुभयो । उहाँले दैनिक पाँच/सात जना बिरामीलाई रिफर गर्नुपरेको बताउनु भयो ।
अस्पतालमा सिटी स्क्यान सेवा लुम्बिनी प्रदेश सरकारको ३ करोड ८० लाख रुपियाँ सहयोगमा ०७७ सालमा सुरु गरिएको थियो । प्रदेश मातहतको अस्पालत भएकाले सेवा सुचारु गर्न बजेटको व्यवस्थापन गर्नुपर्ने अस्पतालले जनाएको छ । पाँच महिनादेखि सेवा बन्द हुँदा सवारी दुर्घटना तथा नसाका गम्भीर समस्या भएका बिरामीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता आएको छ । मेसु अधिकारीले सरकारको सहयोग नभए सेवा सुचारु तत्काल गर्न नसकिने बताउनु भयो ।