INSEC Online

📅 २०८३ जेष्ठ २१

बोक्सी घटनाका फरार आरोपित गिरफ्तार

बोक्सी आरोपमा कुटपिट गरी फरार रहेका आरोपित औरही गाउँपालिका-१ झिटकोहियाका ४० वर्षीय रामजी यादव र निजका भाई ३२ वर्षीय रामनाथ यादवलाई ०८१ भदौ १५ गते जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेको छ ।

आरोपितहरूले ०८० असोज ११ गते राति औरही गाउँपालिका-१ झिटकोहिया की ५५ वर्षीया बिल्टी देवी यादवलाई बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा असोज १२ गते उजुरी दिनु भएको थियो ।

आरोपित रामनाथका ६ महिनाको छोरा बिरामी भएपछि सोही वडाका फुल्गेन यादवकी पत्नी धामी झाँक्रीले पीडित बिल्टी देवीले बोक्सी लगाएको भनेपछि आरोपितहरूले पीडितलाई खुकुरी र भाटा प्रहार गरी घाइते बनाएका थिए ।

पीडितको उपचार ०८० असोज ११ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भएको थियो ।

पीडितले न्यायको लागि पहल गरिदिनुहुन भनी इन्सेक मधेस प्रदेश कार्यालय जनकपुरधाममा ०८० कात्तिक १५ गते निवेदन दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवाले आरोपितहरूलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको बताउनु भयो ।

अन्य

भिडियो