स्थानीय तहको निर्वाचन भएको ६ महिना पुगिसक्दा पनि औषधि खरिद प्रक्रियामा ढिलाई हुँदा जिल्लाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । पहिले स्वास्थ्य संस्थामै बजेट आएर औषधि खरिद गर्ने व्यवस्था भएकोमा हाल स्थानीय तहको पुनर्संरचनाले गर्दा औषधि खरिद प्रक्रियामा अन्यौलता हुँदा अभाव बढेको हो ।
जिल्लाका एक अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र र २६ स्वास्थ्य चौकीमा लामो समयदेखि औषधि अभाव भएको जनाइएको छ । यस आर्थिक वर्षेखि जिल्ला अस्पतालको बजेट सदरमुकाममा रहेको मुसीकोट नगरपालिका र अन्य स्वास्थ्य संस्थाका लागि औषधि खरिदको बजेट सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।
सम्बन्धित स्थानीय तहले हालसम्म पनि औषधि खरिद प्रक्रिया सुरू नगर्दा समस्या देखिएको हो । जिल्ला अस्पतालका प्रमुख डाक्टर सविन पोखरेलले यस वर्षऔषधि खरिद प्रक्रियामा ढिलाई हुँदा स्थानीय स्वास्थ्य संस्थामा औषधि अभाव रहेको बताए । स्थानीय स्वास्थ्य संस्थामा अभाव भएपनि जिल्ला अस्पतालमा भने क्षेत्रीय निर्देशनालयबाट ल्याएर पूर्ति गरिरहेको उनको भनाई छ ।
विशेषगरी लेप्रोसी, पिभिसि, एमोक्सिलिन, मेट्रो, पारासिटामोललगायतका औषधिहरूको अभाव भएको डाक्टर पोख्रेलले जानकारी दिए । जिल्लाबाट स्थानीय तहमा दिने औषधि भने अपुग भएकाले स्थानीय स्तरका स्वास्थ्य संस्थाबाट औषधि लिन जिल्ला अस्पताल पुग्ने कर्मचारी पनि नलिएरै फर्किने गरेका छन् ।
सरकारले औषधि खरिदका लागि भनेर तीन नगरपालिका मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिकामा ४/४ लाख रुपियाँ पठाइदिएको छ । बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकामा ३/३ लाख रुपियाँ पठाइएको छ । उक्त रकमले औषधि खरिद गर्न सक्ने अवस्था छैन ।
मुसीकोट नगरपालिकामा आएको ४ लाख रुपियाँ बजेटबाट जिल्ला अस्पताल सहित पाँच ओटा स्वास्थ्य चौकीका लागि औषधि खरिद गर्नुपर्ने हुन्छ भने अन्य स्थानीय तहले पनि कम्तीमा ४ वटा स्वास्थ्य संस्थाका लागि औषधि खरिद गर्नुपर्ने हुन्छ । स्थानीय तहहरूबाट थप बजेट विनियोजन गरेर औषधि खरिद गर्नुपर्ने अवस्था रहेको छ ।
स्थानीय तहलाई औषधि खरिदको प्रक्रियाबारे जानकारी नभएर तथा त्यससम्बन्धी कानुन नहुँदा पनि यो प्रक्रियामा ढिलाइ भइरहेको हुनसक्ने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव आचार्यले बताए ।
भर्खरै मात्र स्थानीय चुनाव सकिएको र सङ्घ तथा प्रदेशको चुनावमा सबै केन्द्रित हुँदा यस्ता सबैखाले कामहरू प्रभावित भएको उनको भनाई छ । आठबिसकोट नगरपालिकामा जिल्लाबाट प्राप्त ४ लाख ८० हजार रुपियाँ र नगरपालिकाको स्थानीय बजेट १० लाख रुपियाँ बजेटबाट औषधि खरिद प्रक्रिया सुरू गरिएको कार्यकारी अधिकृत रामबहादुर केसीले बताए ।