पत्नी हत्याको आरोपमा लहान नपा-१५ का ६० वर्षीय काले तामाङलाई जिल्ला अदालतले कात्तिक १४ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हर्रि्रसाद शर्मा उपाध्याय पङ्गेनीको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए ।
आरोपितले ०७३ चैत ३ गते राति ५३ वर्षीया पत्नी दुखनी तामाङको हत्या गरेको आरोपमा छोरी सितलीदेवी तामाङले इलाका प्रहरी कार्यालय लहानमा चैत ४ गते उजुरी दिएकी थिइन् । शवको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा चैत ५ गते पोष्टमार्टम भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई चैत ४ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित चैत २९ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।