बडिगाड गाउँपालिका– १० दर्लिङको डहरे देउरालीका ७७ वर्षीय दिलबहादुर विक र ७३ वर्षीया पन्थी विकको हँसिया प्रहार गरी हत्या प्रयास गरेको आरोपमा बुहारी नाता पर्ने ३६ वर्षीया होमकुमारी कामीलाई प्रहरीले ०८१ भदौ १२ गते स्थानीयको सहयोगमा गिरफ्तार गरेको छ ।
आरोपित विरुद्ध पीडित पक्षले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
घाँसको विषयमा घरायसी विवाद हुँदा होमकुमारीले भदौ ११ गते दिलबहादुर र पन्थीलाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् ।
आरोपितविरुद्ध भदौ १३ गते कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ऋषीराम कँडेलले जानकारी दिनुभयो ।
हँसिया प्रहारबाट घाइते भएका विक दम्पतीलाई वडाध्यक्ष विरेन्द्र कुमार बुढाको पहलमा उपचारको लागि बुर्तिवाङ स्वास्थ्य केन्द्र पुर्याइएको थियो ।
टाउको, गाला र शरीरका विभिन्न भागमा हँसिया प्रहारबाट गहिरो चोट लागेका विक दम्पतीलाई थप उपचारका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रले धौलागिरी अस्पतालमा रिफर गरेको छ । घाइतेहरुको थप उपचार धौलागिरी अस्पतालमा भइरहेको छ ।