वीरेन्द्रनगर नगरपालिका–११ की ४५ वर्षीया रुपा बादी अहिले रातभर सुत्न पाउनुभएको छैन । खोला किनार नजिकै रहेको घर कतिबेला बाढीले बगाउने हो भन्ने चिन्ताले उहाँलाई सताउँछ । हिउँदमा ढुककले सुत्ने उहाँलाई वर्षायाम लागेपछि हरेक वर्ष यसरी नै त्रासमा रात बिताउनुपर्छ ।

‘घर आडैबाट खोला बगेको छ । रातिमा कतिबेला भल आएर घरसहित लिने हो भन्ने चिन्ताले रातभर नसुतेरै बस्छु । आकाश सफा भएको दिन त सुत्छौँ । नभए असार यता आकाश गड्याङ्गगुडुङ्ग भएपछि कतिबेला भाग्नुपर्ने हो भनेर सुतेका छैनौँ’, उहाँले भन्नुभयो । पाँच जनाको उहाँको परिवार त्रासै त्रासमा बस्नुपरेको पीडा रुपाले सुनाउनुभयो । त्यस्तै ५५ वर्षीया लालसरा बादीलाई पनि वर्षा बढेसँगै चिन्ता बढेको छ । आकाशमा पानी आउने सङ्केत पाएपछि उहाँसहित सात जनाको परिवार रातभर जागराम बस्छन् । ‘हिउँदमा त ढुक्कले सुत्छौँ । अहिले त लगातार एक दुई दिन पानी परेपछि घरकै डिलमा खोला पुग्छ । हामीलाई त यो खोलाकै डर छ, यसैको भर छ । हिउँदमा यहीबाट बालुवा र गिड्टी कुटेर जहान परिवार पाल्छौँ । वर्षामा त खाली खोला कुरेर बस्छौँ’, लालसराले भन्नुभयो ।
झुप्रा गाउँको खोला किनारमा बस्दै आएका १ सय ४१ घरधुरी हरेक वर्षको वर्षामा रातभर सुत्न पाउँदैनन् । झुप्रा खोला र भेरी नदीको पानीको बहाव सिधै बस्तीतर्फ सोझिने हुँदा उक्त बस्ती बाढीको जोृखिममा रहेको छ । २०७१ सालको बाढीले यो बस्तीलाई तहसनहस बनाएको थियो । पछि अवस्ता समान्य भएपछि त्यही बगरमै बसेर बालुवा गिट्टीबाटै यहाँका बादी समुदायले जीविकोपार्जन गर्दै आएका छन् ।
असार लागेदेखि भदौसम्म स्थानीय सरकारले खोलाबाट ढुङ्गा र बालुवा निकासी बन्द गरिदिने गरेको छ । जसका कारण यहाँका स्थानीयहरू साँझ बिहानको छाक टार्न समेत वीरेन्द्रनगर बजारमा ज्याला मजदुरी गर्नुपर्ने बाध्यता रहेको स्थानीय बलु बादीले बताउनु भयो । वीरेन्द्रनगर बजारदेखि करिब १३ किमी पूर्वमा बसोबास रहेको झुप्रा बस्तीमा २०४४ सालदेखि ऐलानी जग्गामा बस्दै आएका छन् ।
२०६५ र २०७१ सालमा खोलामा आएको ठूलो बाढीले निकै क्षति पुगेको थियो । मानवीय क्षति नभए पनि भौतिक संरचना तथा पशुचौपाया बगाएको थियो । तर हालसम्म पनि यो बस्तीलाई नत सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सकिएको छ नत खोलामा तटबन्धन नै गरिएको छ । गरिबी, अशिक्षा, बेरोजगारी यस बस्तीका मुख्य समस्या रहेको छ । उनीहरूले खोला किनारमा जसोतसो बाससम्म त बस्न पाएका त छन्, तर झुप्रा खोलामा आउने बाढीको जोखिमको त्रासले भने उनीहरू ढुक्कले निदाउने अवस्था छैन ।
सुरक्षित बाँच्न पाउने अधिकारको प्रत्याभूति राज्यले गर्नुपर्ने बादी अगुवा शुसीला बादीले बताउनु भयो । ‘गरिबी, अशिक्षा, बेरोजगारी यस बस्तीका मुख्य समस्या छन् । नागरिक लालपुर्जाविहीन छन् । वर्षौँदेखि जग्गाको मालिक बन्ने सपना राज्यले कहिले पूरा गर्छ ? खानेपानीको समस्या त्यस्तै छ । सुरक्षित बाँच्न पाउने अधिकारको प्रत्याभूति राज्यले दिन सकेको छैन’, उहाँले भन्नुभयो ।
