चौकुने गाउँपालिका-१ को वडा कार्यालय वडा अध्यक्ष जिरक बडुवालको इच्छा अनुसार मनोमानी सारेपछि स्थानीयहरूलाई सेवा प्रवाहमा समस्या भएको छ ।
तीन घण्टा पैदल हिँडेर नयाँ वडा कार्यालय, सातासम्म आएर पनि सेवा पाउन नसकेपछि तालागाउँका स्थानीय देवबहादुर सावँद खाली हात घर फर्किनुभयो । ‘छोराको अपाङ्ग भत्ताको नविकरणका लागि गएको थिएँ । तर काम नै हुन सकेन । वडामा ताला लागेको थियो । वडा अध्यक्ष र सचिवले पनि फोन उठाएनन् । रित्तै फर्किन बाध्य भएँ,’ सावँदले भन्नुभयो । धनरासबाट साता वडा कार्यालय टाढा सारिए पनि आफूले सेवा नपाएको भन्दै स्थानीय तहप्रति उहाँले आक्रोस पाख्नुभयो । उहाँ मात्र होइन, उचौकुने गाउँपालिका-१ का अधिकांश स्थानीयहरू वडाको सेवाबाट वञ्चित भएका छन् ।
उक्त विषय अदालतसम्म प्रवेश गरिसकेको छ । अदालतले पनि दुई पटक अन्तरिम आदेश मार्फत पहिलेकै ठाउँबाट वडाको कामकाज गर्नु भनेर आदेश दियो । तर, स्थानीय तहले न पहिलेकै स्थानबाट कामकाज गर्न सहजीकरण गर्यो, नत वडाले नै चासो दियो । बरु त्यस विपरीत स्थानीय तहका जनप्रतिनिधि र वडा अध्यक्षले आफ्नै मनमौजीमा वडाको कामकाज चलाइरहेका छन् ।
यसअघि साउन १५ गते उच्च अदालत सुर्खेतले चौकुने गाउँ कार्यपालिकाका नाममा कारण देखाउ आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालत, सुर्खेतका न्यायाधीश सागर विष्टको एकल इजलासले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६ को उपदफा (७) को कानुनी व्यवस्था र सेवाग्राहीलाई पर्न सक्ने असुविधा समेतलाई दृष्टिगत गरी ०८१ साउन २७ गतेसम्म गाउँ कार्यपालिकाको ०८१ असार १० को निर्णय उक्त अवधिसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
त्यस्तै ०८१ साउन २७ गतेको पेसी तोकी दुवै पक्षलाई जानकारी दिइ नियमानुसार पेश गर्न र गाउँ कार्यपालिकाबाट पारित असार १० को निर्णय, वडा नम्बर १ को सम्पूर्ण सीमाना खुल्ने निकायबाट जारी नक्सा सहितको सक्कल फाइल इजलास समक्ष देखाउन अदालतले आदेश जारी गरेको भए पनि स्थानीय तह र वडाले त्यो सम्बन्धी कुनै पनि सक्कल कागजातहरू अदालतमा पेस गरेका थिएनन् । जसबाट साउन २७ गते उच्च अदालत, सुर्खेतका न्यायधीशद्वय कृष्णलाल भट्टराई र मदन पोख्रेलको संयुक्त इजलासले साउन १५ गतेकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै पुरानै स्थानबाट वडा कार्यालयको कामकाज गर्न आदेश दिएको थियो । अदालतले गाउँ सभाको निर्णय नगरेरै किन वडा कार्यालय सारेको ?, अदालतको आदेश पालना किन नगरेको ?, पहिलेदेखि नै वडा कार्यालय सार्ने मनसाय रहेको जस्ता विषयहरूलाई औँल्याउँदै प्रश्न उठाएको थियो । त्यसयता वडा अध्यक्षले नयाँ सारिएको कार्यालय र पुरानो ठाउँबाट सेवा दिए सक्नुभएको छैन ।
चौकुने गाउँपालिका-१, गैलुका स्थानीय ३२ वर्षीय टङ्क कठायत भन्नुहुन्छ, ‘म छोराको जन्मदर्ता बनाउन सातामा गएको थिएँ । तीन घण्टादेखि कुरेर बसेँ । वडामा ताल्चा लागेको थियो । वडा सचिवलाई फोन गरेँ । उहाँले स्थानीय तहले काम नगर्नु भनेको छ भन्नुभयो । हामीलाई सेवा चाहियो । यस्तो लापरवाही गरेपछि जनप्रतिनिधिले कसरी जनभावना अनुसार काम गर्लान् ।’
चौकुने गाउँपालिका-१ का वडा अध्यक्ष जिरक बडुवालले सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि टोलटोलमा नेटवर्कजस्ता समस्याले धामीसेन र वडा नम्बर २ को कार्यालयमा गर्नुपरेको बताउनु भयो । ‘अदालते साताबाट काम नगर भन्छ । पुरानै ठाउँ धनरास लिन अहिले बाटो लगायतका समस्या छन् । कोही ठाउँमा नेटवर्क छैन । कोही ठाउँमा सोलार छैनन् । गाउँपालिकाकै सल्लाहमा अहिले हामीले ती दुई ठाउँबाट काम गर्न लागेका छौँ । पछि केही व्यवस्था भए धनरासबाट नै सेवा दिने योजनामा छौँ’, वडा अध्यक्ष बडुवालले भन्नुभयो ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले भने वडाकै प्रस्ताव अनुसार कार्यालय धनरासबाट साता सारिएको दाबी गर्नुभयाे । उहाँले सबैलाई पायक पर्ने स्थान धनरास नै भएको भन्दै हावाहुरीले भवन नै उडाएका कारण साताबाट अस्थायी रूपमा सेवा दिने कार्यपालिकाले निर्णय गरेको बताउनु भयो । ‘वडाको प्रस्तावमा नै वडा कार्यालय साता सार्ने निर्णय कार्यपालिकाले गरेको हो । सबैलाई पायक पर्ने स्थान भनेको त धनरास नै हो । साता अस्थायी रूपमा मात्रै हो । धनरासमा भएको भवन पनि हावाहुरीले उडाएपछि कार्यालय सञ्चालनका लागि साता ल्याइएको हो’, अध्यक्ष विकले भन्नुभयाे ।
