INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित

राजापुर नगरपालिका–४ स्थित अमर शहीद श्री दशरथ चन्द माध्यामिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । ७ सय ५० जना विद्यार्थी रहेको विद्यालयमा दरबन्दी अनुसार शिक्षक नहुँदा पठनपाठनमा असर परेको हो ।

विद्यालयमा सामाजिक पढाउने शिक्षकको विषय पढाउने विषय शिक्षक नहुँदा विद्यालयले सञ्चालन गर्ने त्रैमासिक परीक्षामा सामाजिक विषयको परीक्षा समेत रोकिएको विद्यालयका प्रधानाध्यपक सरोजकुमार झाले बताउनु भयो । सामाजिक विषयका विषय शिक्षक केही वर्ष अघि निलम्बन भएपछि विद्यालयमा सामाजिक विषयको शिक्षक अभाव भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यालयमा सामाजिक मात्र होइन गणित पढाउने शिक्षकको पनि अभाव छ । विद्यालयमा कक्षा १ देखि १० सम्म ७ सय ५० जना विद्यार्थी रहेको छन् । जसमध्ये कक्षा ९ मा १ सय ५२ जना विद्यार्थी र कक्षा १० मा ७९ जना विद्यार्थी रहेका छन् । विद्यालयमा रहेको आधारभूत तहको शिक्षक दरबन्दी मिलान गर्दा जेठ २७ गते अन्यत्र सरुवा भएपछि विद्यालयमा तीन महिनाबाट शिक्षकको अभाव भएको हो । स्थानीय तहसँग शिक्षक नभएको विषय जानकारी गराउँदै शिक्षक माग गरेका छौँ ।’

विद्यालयमा सामाजिक विषयको परीक्षा हुन नसक्नुको प्रमुख कारण विद्यालयमा दरबन्दी अनुसार शिक्षकको अभाव भएको अमर शहीद श्री दशरथ चन्द माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार उपाध्यायले बताउनु भयो । उहाँले पटक पटक शिक्षकको माग गर्दा पनि स्थानीय तहले कुनै सुनवाई नगरेको गुनासो गर्नुभयो । स्थानीय तहले शिक्षकको दरबन्दी मिलान गर्दा विद्यालयका दुई जना शिक्षकको सरुवा भयो । त्यसपछि स्थानीय तहले छिट्टै विद्यालयमा शिक्षक व्यवस्थापन गर्छौँ भने पनि हालसम्म शिक्षक व्यवस्थापन हुन सकेको छैन । विद्यालयमा पोलिटिकल साइन्सको शिक्षक नहुँदा गत वर्ष आफैले विद्यालयमा निःशुल्क पढाएँ । यस पटक पनि विद्यालयमा शिक्षक आउने सम्भावना अहिलेससम्म देखिएको छैन । विद्यालयमा शिक्षक नभएको विषयमा शिक्षा शाखा र जनप्रतिनिधिलाई जानकारी छ’, उहाँले भन्नुभयो ।

स्थानीय तहले शिक्षामा सुधारमा ल्याउनका लागि भन्दै स्थानीय शिक्षा ऐन, २०८० र शिक्षक दरबन्दी मिलान कार्यविधि, २०८० कार्यान्वयन ल्याएको थियो । तर कार्यान्वयन पक्ष कमजोर हुँदा ऐन र कार्यविधि प्रभावकारी कार्यान्यवन हुन सकेको छैन । स्थानीय तहमा सङ्घीय बजेटबाट २३ करोड ६२ लाख ४४ हजार र स्थानीय तहले ७ करोड ५० लाख गरी ३० करोड १२ लाख ४४ हजार रुपियाँ बजेट रहेको शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले बताउनु भयो । उहाँले स्थानीय तहमा रहेको बजेट शिक्षक तलब, शैक्षिक सामाग्री, छात्रवृति पाठ्यपुस्तक दिवा खाजामा खर्च गर्ने गरिएको बताउनु भयो । स्थानीय तह शिक्षा तर्फको बजेटबाट नगर शिक्षक राखेर शिक्षक व्यवस्थापन गर्दै आए पनि कार्यपालिका र अन्य समितिले नयाँ शिक्षक नियुक्तिका लागि विज्ञापन नगर्ने भनेकोले तत्काल शिक्षक विज्ञापन नगरिएको चौधरीले जानकारी दिनुभयो ।

राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले विद्यालयमा परीक्षा सञ्चालन हुन नसकेको विषयमा आफूलाई जानकारी भए पनि विद्यालयमा शिक्षक नभएको बारेमा आफूलाई जानकारी नभएको बताउनु भयो । उहाँले स्थानीय तहमा शिक्षामा सुधार ल्याउन शिक्षक महासङ्घको नेतृत्वको लागि पाँच सदस्यीय समिति गठन गरिएको बताउनु भयो । उहाँले कतिपय विद्यालयमा रहेको शिक्षकलाई मिलान गर्न खोज्दा उच्च अदालतले मुद्दा पर्ने र अख्तियारमा मुद्दा पर्ने कारण पनि सोचे अनुसार काम गर्न नसकिएको बताउनु भयो । उहाँले कति स्थानीय तहले तत्काल दरबन्दी शिक्षक व्यवस्थापन गर्न नसके पनि अहिले देखिएको समस्यालाई समाधान गर्ने गरी भोलि नै शिक्षा समितिको बैठक बसी निर्णय गर्ने बताउनु भयो ।

अन्य

भिडियो