INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामीको चाप बढेपछि बैकल्पिक व्यवस्थाबाट उपचार

रुकुम पश्चिमको जिल्ला अस्पताल, सल्लेमा बिरामीको चाप बढेपछि बैकल्पिक बेड व्यवस्थापन गरिएको छ । नागरिक बिरामी हुन थालेपछि जिल्ला अस्पतालमा बेड अभाव हुँदा अस्पताल विकास समितिले बैकल्पिक वेडको व्यवस्थापन गरेको हो ।

वर्षायाममा विभिन्न रोगले ग्रसित बिरामीलाई चेक जाँच गर्दा भर्ना गरेर उपचार गर्नुपर्ने भएकाले अस्पताल भवनका बेडमा बिरामी धेरै हुँदा बाल रोग तथा हाडजोर्नी र नसासम्बन्धी उपचार भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेक बहादुर कुसारीले बताउनु भयो । भवन अगाडिको आँगनमा त्रिपाल टाँगेर बैकल्पिक बेड व्यवस्थापन गरिएको अध्यक्ष कुसारीले जानकारी दिनुभयो । बिरामीको चाप बढ्दै गएपछि गाडी पार्किङका लागि बनाएको ग्रिल तथा जस्तापाताको प्रयोगमा निर्माण गरेको छाप्रोमा त्रिपाल टाँगेर बेड राखेर उपचार गर्ने गरेको उहाँको भनाइ छ ।

तत्कालका लागि चार ओटा बेड राखिएको र बिरामी बढ्न थाले बेड थप गरी सेवा उपलब्ध गराउने अध्यक्ष कुसारी बताउनुहुन्छ । बिरामीले इमरजेन्सी वार्ड भरिएपछि बैकल्पिक रूपमा बेडको व्यवस्थापन गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष कुसारीले १५ शैयाको अस्पतालमा दैनिक ४० जना बिरामी भर्ना गर्नुपरेका बताउँदै बेड अभाव देखिएपछि अस्पताल परिसरमा त्रिपाल टाँगेर बैकल्पिक शैयाको व्यवस्था गरिएको बताउनु भयो । मौसमी तथ विपद्का घटना, भाइरलका बिरामी बढ्दै गएपछि अस्पतालको भर्ना कक्ष र आकस्मिक कक्षमा बिरामीको चाप हुने गरेकाले बिरामीलाई औषधि उपचार गर्न बेड थपिएको हो ।

१५ शैयाको जिल्ला अस्पतला सल्लेमा कर्मचारी दरबन्दी नहुँदा व्यवस्थापनमा समस्या भोग्नु परेको छ । २०४५ सालमा स्थापना भएको अस्पतालको क्षमता विकास हुन सकेको छैन । छिमेकी जिल्लाको अस्पतालको क्षमता वृद्धी गरिएको छ । तर रुकुम पश्चिमको जिल्ला अस्पताललाई व्यवास्था गरिएको स्थानीय बताउँछन् ।

जिल्ला अस्पतालबाट बालरोग, महिला तथा स्त्रीरोग गरी दुई जना विशेषज्ञ सेवा प्रवाह भइरहेका छन् । हाडजोर्नी र नसासम्बन्धी सेवा सञ्चालनमा ल्याए पनि जनशक्ति अभावका कारण सेवा दिन नसकेको स्थानीयहरूको भनाइ छ । विशेषज्ञको अभावमा रोकिएका सेवा तत्काल सञ्चालन गर्ने तयारी भइरहेको छ । अस्पतालको सेवा प्रभावकारी भए पनि बिरामीको चाप बढ्दै गएको छ ।

Photo15082024Rukum West

अन्य

भिडियो