INSEC Online

📅 २०८३ जेष्ठ २१

जीर्ण विद्यालयको भवनबाट वडा कार्यालयको काम, सेवा प्रवाहमा समस्या

आफ्नो प्रशासनिक भवन नहुँदा भोजपुर नगरपालिका-५, बोखिममा रहेको वडा कार्यालयले वर्षौदेखि विद्यालय भवनबाट दैनिक सेवा प्रवाह गर्दै आइरहेको छ ।

भवन अभावको कारण विद्यालयको जीर्ण भवनबाट स्थानीयले सेवा लिनुपर्ने बाध्यता छ । भोजपुर नगरपालिका-५, बोखिममा स्थित पञ्चकन्या माध्यमिक विद्यालयको पुरानो जीर्ण भवनबाट हाल वडा कार्यालयको सेवा प्रवाह गर्दै आएको छ ।

भवन अभावमा विद्यालयको जीर्ण भवनबाट वडाको दैनिक कार्यहरू गर्दै आइरहेको भोजपुर नगरपालिका-५ का वडाध्यक्ष फविन्द्र प्रधानले बताउनु भयो ।

“हामीसँग वडा कार्यालय सञ्चालनका लागि भवन छैन, स्कुलको कोठा मागेर बनाएको कार्यालयमा पनि काम गर्न निकै कठिन हुने गरेको छ ।” वडाध्यक्ष प्रधानले भन्नुभयो । विद्यालयले दिएको दुई कोठे भवन पनि सवै जीर्ण छ । वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय धनराज राईले तीन रोपनी जग्गा उपलब्ध गराउनु भएको छ ।

भवन निर्माणका लागि जग्गा उपलब्ध भएपनि बजेट अभावमा वडा भवन बन्ने सम्भावना छैन । पूर्वाधार अभावका कारण सेवाग्राही आउँदा भीड हुने र चुस्त सेवा दिन समस्या भएको वडाले जनाएको छ ।

कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा गरे अनुसारको सेवा प्रवाहमा समस्या भएको वडासचिव अभिनाश राईले बताउनु भयो । उहाँले भन्नुभयो, “वर्र्षौँंदेखि वडाको काम दुई ओटा कोठाबाट चलिरहेको छ, जीर्ण अवस्थामा रहेको भवनले कतिखेर समस्या निम्त्याउने हो, टुङ्गो छैन ।” वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकाले समेत बजेट व्यवस्थापन गर्न सकेको छैन ।

स्थानीय तह कार्यान्वयन भएको लामो समय वितिसक्दा पनि भवन निर्माण नहुँदा सेवा प्रवाहमा समस्या भएको भोजपुर नगरपालिका–५, बोखिमका स्थानीय धनबहादुर थापाले बताउनु भयो । “जन्म दर्ता, मृत्यु दर्तालगायतका कामका लागि वडामा नै जानु पर्छ, वडामा सेवाग्राही पालो कुर्दा बस्ने ठाउँ समेत छैन् ।”

Photo 20240815 Bhojhapur

अन्य

भिडियो