बाढी पहिरोबाट पीडित भएर राहतको पर्खाइमा बसेका पाँचपोखरी थाम्पाल गाउँपालिका–२ याङ्ग्रीका ४७ घर परिवारलाई सुरक्षित गर्न नसक्दा पुनः पहिरो आएर बगाउने त्रास भएको स्थानीयले गुनासो गरेका छन् ।
लार्के खोलामा ०८१ असार ३० गते राति आएको बाढीले क्षति पुर्याएर गाउँलाई नै खोलाले घेराबन्दी गरेपछि यहाँका नागरिक त्रासमा रहनु परेको छ । ‘गाउँबाट बाहिर जाने पुल छैन । बाटो छैन । खाने अन्न समेत नहुँदा ठूलो समस्यामा परेका छौँ । पुनः बाढी आएर गाउँ बगाएर लैजाने पो हो कि भन्ने त्रासमा बाँच्नु परेको छ ।’– पाँचपोखरी थाम्पाल गाउँपालिका–२ का लक्ष्मण तमाङले भन्नु भयो ।

‘याङ्ग्री गाउँमा जाने दुई ओटा पुल चिन्दे झोलङ्गेपुल र महाङ्काल झोलङ्गे पुल थिए । दुवै पुल असार ३० गते आएको बाढीले बगाएर लग्यो । खेतियोग्य जमीन समेत बगाएर लग्यो । बाढीले मेलम्ची—भोताङ खण्डको सडक बगाएर अवरुद्ध बनाएको छ । खानेपानीको मुहानहरू बाढीले बगाए लगेपछि हालसम्म सूचारु हुन सकेका छैनन् ।’– पाँचपोखरी थाम्पाल गाउँपालिका–२ का गोपाल स्याङबोले भन्नु भयो ।
याङ्ग्री गाउँमा अहिले खाद्यान्नकै समस्या भएको स्थानीय गोपाल स्याङ्बोले बताउनु भयो । ‘घरमा अन्न छ तर पिस्ने मिल र घट्ट बाढीले बगाएर लगेपछि घरमा भएको अन्न पिसेर खानै समस्या भएको छ ।’–गोपाल स्याङ्बोले भन्नु भयो ।

‘किनेर खाने ठाउँ छैन । किन्न जाने बाटो छैन । हामीले कसरी जीवन धान्ने ? निरन्तर वर्षा भइरहेकै छ । गाउँभन्दा माथिबाट पहिरो आउला भन्ने डर त्यतिकै छ । खोलामा बाढी आएर गाउँलाई पुरै बगाएर लैजाने पो हो की भन्ने त्रास छ ।’–स्थानीय सुनबहादुर स्याङ्बोले भन्नु भयो ।
बाढी र पहिरोका कारण याङग्री गाउँमा कुटानी पसिानी गर्ने मिल बगाएकाले कुटानी पिसानी मिल पुर्याउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनु भयो ।
पहिरो गएको महिना बित्न लाग्दासमेत तीन तहमध्ये कुनै सरकारले पनि राहत उपलब्ध नगराएको स्थानीय मिठु तमाङले आरोप लगाउनु भयो ।

अहिले यहाँका नागरिकलाई खाने अन्नको लागि सङ्घीय सरकारबाट पहल हुन्छ भन्ने पाँचपोखरी थाम्पाल गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो ।
मनसुनजन्य जोखिमबाट नागरिकहरूलाइ सुरक्षित गर्न नसक्दा बाढी पहिरो प्रभावित गाउँका नागरिकहरूले आर्थिक आयआर्जनका कार्यक्रम गर्न नपाएका नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठको भनाइ छ ।
