कर्णाली प्रदेश सरकारले विपद्का कारण नागरिकहरू घरबारविहीन नहुनका लागि जोखिम बिमा कार्यक्रम ल्याएको छ । विपद्बाट नागरिकका निजी आवास क्षतिका कारण नागरिक घरबार विहीन हुने अवस्थाको अन्त्य गर्न यस वर्षदेखि प्राथमिकताका आधारमा निजी घरको जोखिम बिमा कार्यक्रम ल्याएको हो ।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका अनुसार उक्त कार्यक्रमका लागि ५ करोड रुपियाँ रकम समेत विनियोजन गरिएको छ । मुख्यमन्त्री कँडेलले विपद् न्यूनीकरणमा प्रदेश सरकारले कामहरू गरिरहेको बताउनु भयो । ‘विपद् न्यूनीकरण सबै तहका सरकार तथा सबै निकायहरूले ध्यान दिनुपर्छ । हामी बिचको सरकार हौँ । कतिपय साधन, स्रोत र पहुँचको अभावमा विपद् न्यूनीकरणमा प्रभावकारीता हुन सकेको छैन । त्यसमा मेरो ध्यान गएको छ’, मुख्यमन्त्री कँडेलले भन्नुभयो ।
मुख्यमन्त्री कँडेलले ०८१ साउन २८ गते बसेको प्रदेशसभा बैठकमा यो वर्षको ६३ दिनमा प्रदेशभर भएका विपद् घटनाहरूको विषयहरू संसदलाई जानकारी गराउनुभएको थियो । उहाँका अनुसार कर्णालीमा मनसुनजन्य विपद्बाट ६३ दिनको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । वर्षात्का कारण आएको पहिरो तथा बाढीमा गरी ती व्यक्तिहरूले ज्यान गुमाएका हुन् । यो वर्षको विपद्जन्य मनसुन जेठ २८ गतेदेखि सुरु भएको र साउन २७ गतेसम्म विपद्मा परी एक जना बेपत्ता भएका छन् । यस्तै, विपद् घटनामा परी २१ जना महिला र ३४ जना पुरुष गरी ५५ जना घाइते भए । उपचारपछि सबै नागरिक घर फर्किएको जानकारी मुख्यमन्त्री कँडेलले दिनुभयो ।
यस्तै, यो अवधिमा विपद् घटनाबाट १ सय ४५ परिवार विस्थापित भएको उहाँको भनाइ छ । जसमा निजी आवासतर्फ ९० पूर्णक्षति, ५९ घरमा आंशिक क्षति भएको छ । यस्तै, सार्वजनिक संरचनातर्फ १० पूर्ण र ६ ओटामा आंशिक क्षति भएको छ । २ सय ५७ पशुचौपायको मृत्यु भएको छ ।
कानुन मन्त्रालय अन्तर्गतको विपद् शाखाले यो वर्षको विपद् पूर्व तयारी कार्य योजना बनाएको थियो । मुख्यमन्त्री कँडेलले विपद् जोखिम सामूहिक दुर्घटना बिमा बापत ६ करोड ९० लाख रकम दिइएको बताउनु भयो । यस्तै, गत आर्थिक वर्षमा विपद् घटनामा परी ज्यान गुमाएका १ सय ६६ जनाका आफन्त तथा हकदारहरू ३ करोड ७२ लाख रुपियाँ बिमा रकम भुक्तानी गरिएको छ । मुख्यमन्त्री कँडेलले गत वर्ष मनसुनजन्य विपद्को आपतकालीन उद्धार तथा राहतका लागि भनेर नेपाली सेनालाई प्रदेश सरकारका तर्फबाट २२ लाख ७६ हजार रुपियाँ भुक्तानी गरिएको बताउनु भयो । साथै गत वर्ष नै जिल्ला विपद् समितिहरूलाई विपद् उद्धार, राहत कार्यक्रमका लागि पठाइएको मध्ये ४ करोड ४५ लाखभन्दा बढी रकम अहिले पनि कार्यालयमा रहेको र उक्त रकम पीडितहरूलाई वितरण गर्न ताकेता गरिरहेको उहाँले बताउनु भयो । उहाँले त्यस बाहेक आफूले विपद् अवस्थाबारे सुरक्षा निकायसँग आवश्यक समन्वय गरिरहेको बताउनु भयो ।
