सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका नाकाबाट हुने बेचविखन तथा ओसारपसारका घटनामा बृद्धि भएको पाइएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा क्रियाशिल माइती नेपालले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार वर्षको अवधिमा ३ सय ८० जना महिला र १ सय ७६ बालिका गरी ५ सय ५६ जनाको उद्धार गरिएको छ ।
राज्यले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा चासो नदिएका कारण बेचबिखनका घटनामा बृद्धि भएको माइती नेपाल, कैलालीका संयोजक शिवचरण चौधरीले बताउनु भयो ।
स्वदेशमा रोजगारीको अवसर सृजना नगरिदा आर्थिक प्रलोभनमा परी महिला तथा बालिकाहरु भारत लगायतका खाडीमूलकहरुमा बेचबिखनमा पर्ने गरेको र यो सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा रहेको उहाँले बताउनु भयो ।
आर्थिक वर्ष २०७७ / ०७८ मा दुई जना महिर्ला र दुई जना बालिको भारतबाट उद्दार गरिएको, आर्थिक वर्ष २०७८ / ०७९ मा १ सय ४ जना महिला र ५३ जना बालिका, आर्थिक वर्ष २०७९ / ०८० मा ९६ जना महिला र ४५ जना बालिका र आर्थिक वर्ष २०८० / ०८१ मा १ सय ४ जना महिला र ४२ जना बालिकाको उद्धार गरिएको संयोजक चौधरीले बताउनु भयो ।
बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर गर्ने व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को १५ (१) को खण्ड (घ), च र ज को उपदफा ६ तथा दफा २४ मा ३ वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्मको जरिवाना हुने कानुनी व्यवस्था गरिएको भए पनि कानुनी जटिलता र झन्झटिलो तथा लामो प्रक्रियाका कारण पीडित पक्षहरु मुद्दा दर्ता प्रकृयामा जान नचाहेर मानव बेचविखन तथा ओसारपसारका घटनामा संलग्न व्यक्तिहरु सजिलैसँग उम्कीने र घटना पुनःदोहोरिने गरेको शान्तिपुनर्स्थापन गृहकी संयोजक कैलाशो रानाले बताउनु भयो ।
उहाँले भन्नु भयो—‘महिला तथा बालिकाहरुको नजिकको आफन्तबाटै सीमानाका कटाउने काम भइरहेकाले सीमा निगरानीमा काम गर्ने संघसंस्थाहरुकलाई काम गर्न चुनौती छ । जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन गरिएको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिले सहयोग गर्नु पर्ने हो । तर, समिति गठन भएदेखि बैठकसम्म बस्न सकेको छैन् । नत सिमा नाकामा अनुगमन नै गर्न सकेको छ, न कानुनको प्रभावकारी कार्यान्वयन गर्न सकेको छ ।’
जोखिममा परेका महिला तथा बालिकाहरुलाई उद्धार गरी अभिभावकको जिम्मा लगाउने काम मात्र भएको र पीडित तथा पीडित पक्षले कानुनी प्रकृयामा जान चाहेको खण्डमा मात्र उजुरी दर्ता गर्ने गरिएको संयोजक रानाले बताउनु भयो ।
सुदूपश्चिममा गरिबी, अशिक्षा, रोजगारीको अवसर नभएका कारण र भारतसँगको खुल्ला सीमानाका भएकाले सुदूरपश्चिमका नागरिकहरु रोजगारीको खोजीमा भारत जानु पर्ने बध्यता रहेकाले महिला र बालिकाहरु बढी जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी पदमबहादुर विष्टले बताउनु भयो ।
महिलाहरु बिभिन्न आर्थिक प्रलोभनमा परी दलालहरुको फन्दामा पर्ने तथा आफन्तबाटै सीमानाका कटाइ भारतमा पुग्ने गरेको घटनाहरु हुनेगरेको भए पनि आर्थिक वर्ष २०८० / ८१ मा तीन ओटा मात्रै मानव बेचबिखनका मुद्दा जिल्ला प्रहरी कार्यालयमा दता भएका र धेरै घटनाहरुको उजुरी नआएकाले मुद्दा प्रकृयामा जान नसक्दा आरोपित सजिलै उम्कीने कारणले गर्दा मानव बेचबिखन तथा ओसारपसार रोकथाममा चुनौती रहेका उहाँले बताउनु भयो ।