तानसेन नगरपालिका–७, कुनसरेस्थित आठ वर्षदेखि कृषि सेवा केन्द्रको साँघुरो भवनमा सञ्चालन भइरहेको आधारभुत स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै गएपछि सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।
तानसेन नगरपालिकाका वडा नं. ६, ७, ८ र ९ सहित बगनासकाली गाउँपालिकाको वडा नं. १ र २ बाट समेत यहाँ बिरामी आउने गरेका छन् । दैनिक ३० जनासम्म बिरामी सेवा लिन आउने गरे पनि एउटा साँघुरो कोठाबाट सेवाप्रवाह हुने भएकोले सेवा लिनका लागि लामो समय कुर्नुपरेको सेवाग्राहीहरूको गुनासो छ । तानसेन नगरपालिकाका–७ की कमला नेपालीले आफू नियमित गर्भजाँचका लागि यो सेवा केन्द्रमा आउने गरेको बताउनु भयो । भवनको कोठा साँघुरो र बिरामीहरू आइरहने हुँदा सेवा लिन पालो कुरेर बस्नु पर्ने अवस्था रहेको बताउनु भयो ।
आधारभुत स्वास्थ्य केन्द्रमा बिरामी जाँचका लागि एउटा मात्रै बेड छ । एउटै कोठामा अन्य बिरामीहरू पनि पालो कुरेर बस्नुपर्ने भएकाले कतिपय बिरामीले आफ्नो समस्या खुलेर स्वास्थ्यकर्मीसामु राख्न नपाएको उहाँले बताउनु भयो । गाउँमै यो सेवा केन्द्र खुल्दा धेरैलाई सहज भए पनि सेवा केन्द्रलाई अझ व्यवस्थित बनाउने नगरपालिकाको ध्यान जानुपर्ने उहाँको भनाइ छ ।
तानसेन नगरपालिकाका–७ की महिला स्वास्थ्य स्वयमसेविका रिता भट्टराइले आफूहरूको सम्पर्कमा आउने बिरामीहरूलाई गाउँकै सेवा केन्द्रमा पठाउने गरेको बताउनु भयो । ‘केन्द्रको कोठा साँघुरो छ । बिरामीले पनि चाहेजस्तो सेवा पाउन सक्दैनन्’, उहाँले भन्नुभयो । स्थानीय सरिता खनालले प्रेसर चेक गराउन जाँदा एक घण्टा नै कुर्नुपरेको बताउनु भयो । उहाँले एउटै कोठामा सबै बिरामीले सेवा लिने, बेड पनि एउटै भएको कारण एउटा बेडमा सेवा लिनुपर्ने, बिरामी आएमा अर्को बिरामीले बेडको सेवा नपाउने अवस्थामा रहेको बताउनु भयो ।
आधारभुत स्वास्थ्य केन्द्रकी अहेव शोभा विश्वकर्माले तीन जना स्वास्थ्य कर्मचारी कार्यरत रहेको बताउनु भयो । आफूहरूले केन्द्रमा आउने बिरामीहरूको सहज उपचारका लागि सक्दो प्रयास गरिए पनि पर्याप्त उपकरणको अभाव र साँघुरो कोठा भएका कारण सोचे जस्तो सेवा प्रवाह गर्न नसकिएको बताउनु भयो ।
तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले यो सेवा केन्द्रले धेरै अप्ठ्यारो अवस्थामा अधिकतम नागरिकहरूलाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताउनु भयो । उहाँका अनुसार एउटै कोठाबाट सबै सेवा दिनुपर्ने अवस्था छ । यस विषयमा आगामी दिनमा नगरपालिका र वडा कार्यालयको समन्वयमा केन्द्रलाई व्यवस्थित बनाउने योजना रहेको उहाँले बताउनु भयो ।

