कोशी अस्पतालबाट उपचारका क्रममा फरार भएका कैदीलाई प्रहरीले साउन २३ गते गिरफ्तार गरेको छ ।
जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-८ का २४ वर्षीय आर्यन मोहम्मद अहमद खान भनिने मोहम्मद अहमदलाई प्रहरीले साउन २३ गते गिरफ्तार गरेको हो ।
नेपाल–भारत सीमानजिक जहदा गाउँपालिका-१ तारेगामबाट अहमदलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताउनु भयो ।
जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद ०८१ साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए । उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो ।
बलात्कार मुद्दामा कैद सजाय पाएका अहमदले ०७९ फागुन २९ गतेदेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका छन् । जिल्ला अदालत मोरङले १२ वर्ष कैद र ५ लाख रुपियाँ जरिवानाको फैसला गरेपछि उनी कारागारमा कैद भुक्तान गरिरहेका छन् । अदालतको फैसला अनुसार अहमदबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार रूपैयाँ जम्मा गर्नुपर्ने आदेश छ ।
स्वास्थ्य समस्या भएपछि ०८१ साउन १५ गते कोशी अस्पताल भर्ना गरिएका अहमद साउन १७ गते विहान ड्युटीमा खटिएको प्रहरीलाई लडाएर शौचालयबाट फरार भएका थिए ।