INSEC Online

📅 २०८३ जेष्ठ २१

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा पीडितको पहुँच बढ्दै

भिम अस्पताल, भैरहवामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा पीडितको पहुँच बढ्दै गएको छ । एक वर्षमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले लैङ्गिक हिंसामा परेका ३ सय ४४ जना पीडितहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द (ओसिएमसी) बाट बलात्कार, यौनजन्य दुुर्व्यवहार, शारीरिक यातना, बालविवाह, मानव बेचविखन तथा ओसार पसार, घरेलु हिंसा, लैङ्गिक हिंसा, मानव अधिकार उल्लङ्घन लगायतका घटनामा परी शारीरिक, मानसिक तथा सामाजिक यातना भोगेका पीडित तथा प्रभावितलाई सहयोग गर्ने उद्देश्यले यसको स्थापना भएको हो ।

२०७६ देखि सुरु भएको अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो समयमा लैङ्गिक तथा यौन हिंसाका पीडितहरूलाई स्वास्थ्यमा पहुँच पुर्‍याउँदै आएको छ । विभिन्न खाले हिंसाले पिल्सिएका पीडित र प्रभावितले ओसिएमसी मार्फत निःशुल्क रूपमा सेवा लिएर नयाँ जीवन पाउने महिला र बालिकाहरूको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । ओसिएमसीप्रति पीडित र पीडित परिवारको विश्वास बढ्दै गएको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले लैङ्गिक हिंसाबाट प्रभावित महिला, बालबालिका तथा पुरुषहरूलाई एकिकृत रूपमा विना भेदभाव गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्साजन्य सेवा, प्रमाण सङ्कलन र संरक्षण, आवश्यक मनोविमर्श सेवाको साथै आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानुनी सहयोग र सुरक्षित आवासका लागि रिफर जस्ता सेवाहरू उपलब्ध गराउने उद्देश्यले देशमा तोकिएका केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा स्थापना गरिएको छ ।

ओसिएमसी सेवाका लागि बलात्कार, यौनजन्य दुर्व्यवहार, शारीरिक दुर्व्यवहार, बालविवाह, स्रोत साधन र अधिकारबाट वञ्चित, मानसिक हिंसा तथा दुर्व्यवहार, परम्पराका आधारमा गरिने भेदभावबाट पीडित भएकाहरू सेवा लिन आउने गर्दछन् । ओसिएमसीले चौबिसै घण्टा निःशुल्क स्वास्थ्य सेवा, खाना, छाना र नाना सहितको आधारभूत सेवा उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ लैङ्गिक हिंसामा परेका ३ सय ४४ जना स्वास्थ्य उपचार, मानसिक एवम् मनोसामाजिक परामर्श दिइएको थियो । सेवा लिनेहरूमध्ये ७४ जना बलात्कारका पीडित, ३० जना यौन दुर्व्यवहार, ९५ जना शारीरिक हिंसा, ३९ जना मानसिक हिंसा पीडित, बालविवाहका कारण समस्या भएका १ सय जना र ६ जना अन्य गरी जम्मा ३ सय ४४ जनाले सेवा लिएको भिम अस्पतालको तथ्याङ्क रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ३ सय ५३ जनाले सेवा लिएको जसमा बलात्कार पीडित ६४ जना, यौन दुर्व्यवहार १३ जना, शारीरिक दुर्व्यवहार १ सय ३९ जना, मानसिक दुर्व्यवहारका २८ जना, बालविवाहका कारण विभिन्न समस्या भोगेका ९० जना र अन्य २७ जनाले सेवा लिएको भिम अस्पताल, भैरहवाका ओसिएमसी फोकल पर्सन सावित्रा यादवले बताउनु भयो । त्यसैगरी आ.व. ०७८/७९ मा २ सय ९९ जना, ०७७/७८ मा २ सय ५० जना र ०७६/७७ मा ९८ जना पीडित भएको तथ्याङ्कमा उल्लेख छ । उहाँले अस्पतालमा आएको पीडितहरूको तथ्याङ्क अनुसार लैङ्गिक हिंसाबाट पीडित भएको बताउनु भयो । साथै उहाँले सबैभन्दा बढी १५ देखि ४९ वर्षका र सबैभन्दा कम ५० वर्ष माथिका पीडित हुने गरको जानकारी दिनुभयो ।

लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हिंसा पीडितहरूलाई उपचारको साथै उचित व्यवस्थापन गरी लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना भएको हो । लैङ्गिक हिंसामा परेका महिलाहरूमाथि हुने बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा लगायत अन्य सङ्कटमा रहेकालाई उद्धार र उपचार व्यवस्थापन, पूर्णस्थापनाको काम एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले गर्दै आएको छ ।

भिम अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. शकुन्तला गुप्ताले यौन हिंसा र लैङ्गिक हिंसाबाट पीडित र प्रभावित महिला, बालबालिकाहरूलाई सुरक्षा, स्वास्थ्योपचार, मानसिक एवम् मनोसामाजिक परामर्श, कानुनी उपचार, आश्रय, पूर्णस्थापना कामहरू गर्दे आएको र ओसिएमसीलाई कसरी पीडितमैत्री बनाउन सकिन्छ त्यस विषयमा पनि संवेदनशील भएर अगाडि बढेको बताउनु भयो । डा. गुप्ताले ओसिएमसी सेवालाई सबैको पहुँच योग्य बनाउनका लागि पीडितहरूको कुरा सुन्ने, पहिचान गोप्य राख्ने, स्वास्थ्य उपचार, मनो सामाजिक परामर्श सेवा सहितको केयर जस्ता विषयलाई महत्वका साथ अगाडी बढाएको बताउदै एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा पीडितहरू अहिले धेरै आफै आउने गरेको र कतिपय प्रहरी र सङ्घसंस्था मार्फत आउने गरेको बताउनु भयो । नेपाल सरकारले यौनिक तथा लैङ्गिक हिंसा पीडितहरूलाई सहयोग पुगोस्, न्यायमा पहुँच अभिवृद्धि होस् भन्ने उद्देश्यले ओसिएमसीमा दिइने सबै सेवाहरू पूर्ण रूपले निःशुल्क उपलब्ध गराउन स्थापना भएको केन्द्र हो ।

अन्य

भिडियो