दार्मा गाउँपालिका–५, त्रिवेणीस्थित विशेश्वर आधारभुत विद्यालय पहिरोको उच्च जोखिममा परेको छ । ०८१ असार महिनाको अन्तिममा परेको अविरल वर्षाका कारण विद्यालय भवनको पर्खालबाट ठूलो पहिरो गएपछि विद्यालय पहिरोको उच्च जोखिममा परेको हो । पहिरोका कारण विद्यालयका दुवै भवनका पर्खाल भत्किएपछि कक्षा ८ सम्म सञ्चालित विद्यालयमा अध्ययनरत २ सय ६ जना विद्यार्थीहरू जोखिममा छन् । विद्यालयले जोखिम मोलेर सोही विद्यालय भवनमा पठनपाठन गराइरहेको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ०८० कात्तिक १७ गते गएको भुकम्पले गर्दा विद्यालय भवन चर्किएको र अहिले वर्षापछि पहिरो जाँदा बालबालिकालाई कक्षाकोठामा राखेर पढाउन निकै कठिन भएको विद्यालयलका प्रधानाध्यापक गणेशबहादुर केसीले बताउनु भयो । ठूलो वर्षात् भएमा पहिरोले भवन बगाउने सम्भावना बढी भएकाले कक्षाकोठामा बसेर पढाउन डर लाग्ने गरेको उहाँको भनाइ छ ।
‘वर्षातकाे समय भएकाले दैनिक वर्षात हुँदा विद्यालयको खुला चौर हिलाम्मे छ । चौरमा राखेर पढाउन सकिँदैन । कक्षाकोठामा बसाएर पढाउँदा पहिरोले भवनसँगै बालबालिकालाई पुर्ने हो कि भन्ने डर छ । तत्काल पहिरो नियन्त्रणसम्बन्धी काम गर्न नसकिएकाले त्रासमा पढाउनु पर्ने बाध्यता छ’, उहाँले भन्नुभयो ।
२०४६ सालमा स्थापना भएको विद्यालयका चार भवनमध्ये दुई जीर्ण भइसकेका छन् । नयाँ भवन पहिरोको जोखिममा परेको छ । विद्यालय भवनको पर्खालबाट गएको पहिरोले पर्खाल चिराचिरा परेकाले वर्षात् भएको बेला कक्षाकोठामै छिर्न डर लाग्ने गरेको विद्यालयका शिक्षक विनोद कुमार केसीले बताउनु भयो ।
पहिरोका कारण जति खेर पनि भवन भत्किने सम्भावना बढी भएकाले प्रहरीको मुचुल्कासहित स्थानीय तहमा मर्मतको लागि माग गरिएको प्रधानाध्यापक केसीको भनाइ छ । माग गरेको धेरै भइसके पनि मर्मतको काम भने हुन सकेको छैन् । कक्षा ८ मा अध्ययनरत विद्यार्थी सिता केसीले विद्यालयको भवन जोखिममा भएकाले डराई–डराई पढ्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।