जिल्लामा २६ प्रतिशत बालबालिकाहरू पूर्ण स्तनपानबाट वञ्चित भएका छन् । आधुनिकता कामको व्यवस्ता र सामािजक सञ्जालको असर, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उपलब्धता र शरीर बिग्रने डर जस्ता कारणले स्तनपान गराउने आमाको सङ्ख्यामा घट्दो र नियमित स्तनपानबाट बालबालिकाहरू वञ्चित भएका हुन् ।
सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिइँदै सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ९० प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ । तर, पछिल्लो समय पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको विभिन्न अध्ययनले देखाएको छ । जसले गर्दा लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य अधिकृत रिषव श्रेष्ठका अनुसार स्वास्थ्य व्यवस्थापन प्रणालीको तथ्याङ्कलाई विश्लेषण गरेर हेर्ने हो भने जिल्लामा अझै पनि २६ प्रतिशत बालबालिकाहरू पूर्ण स्तनपानबाट वञ्चित रहेको छ ।
जिल्लाको विगत तीन वर्षको तथ्याङ्कलाई हेर्ने हो भने आर्थिक वर्ष ०७७/७८ मा ४७ प्रतिशत, आ.व. ०७८/७९ मा ४६ प्रतिशत, आ.व. ०७९/८० मा ६३ प्रतिशत र आ.व. ०८०/८१ मा ७४ प्रतिशत बालबालिकाहरूले ६ महिनासम्म आमाको दुधमात्र खुवाएको प्रत्येक महिना स्वास्थ्य संस्थामा गरिने बालबालिका वृद्धि अनुगमनको आधारमा लिइएको हो । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ को तथ्याङ्कले पनि नेपालमा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घटिरहेको देखाएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ बालरोग विशेषज्ञ डा. नेत्रबहादुर रानाका अनुसार बच्चा जन्मेदेखि ६ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउने र जन्मेको एक घण्टाभित्रै स्तनपान गराउनेको सङ्ख्या बढ्दो भए पनि जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या कम रहेकोले बालबालिकाहरू पूर्ण स्तनपानबाट वञ्चित काभएका हुन् ।
नेपालमा जन्मेकोदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ५६ प्रतिशत मात्र रहेको छ भने ४४ प्रतिशतले कृतिम दुध वा गाइभैँसीको दुध खुवाउने गरेको तथ्याङ्कमा छ । त्यस्तै जन्मेको एक घण्टाभित्र आमाको दुध खुवाउने सङ्ख्या ५५ प्रतिशत रहेको रहेको छ । सर्वेक्षणको तथ्याङ्क अनुसार सबैभन्दा बढी पूर्ण स्तनपान गराउनेको सङ्ख्या कर्णली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेको छ । जहाँ ७४ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा ३६ प्रतिशतले पूर्ण स्तनपान गरेको तथ्याङ्कमा उल्लेख रहेको छ । शिशुका लागि आमाको दूध अमृत समान मानिन्छ । तर, पछिल्लो समय खास गरी आमाको दूध नआएको भन्दै बट्टाको दूध वा ल्याक्टाजिने खुवाउने प्रवृत्ति बढदै गएको छ ।
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रवर्द्धन र सहजीकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाह अनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ ।
त्यस्तै सबै प्रकारको सरकारी, गैर सरकारी वा निजी सङ्घसंस्थाले आफ्नो कार्यलयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यलय समयमा आमाको दूध खुवाउनको लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।
त्यस्तै हरेक कार्यलय, स्कुल, बस, पार्क र एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनुपर्ने व्यवस्था गरेको छ । स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा परिभाषित गरिएको छ । स्तनपानलाई/आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना/वस्तु बिक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख गरेको छ । जसमा प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपानलाई प्रवर्द्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नु पर्ने व्यवस्था समेत गरेको छ ।