INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारको प्रभावः नगरपालिकाले माफी माग्दै पीडितलाई ५ हजार रुपियाँ क्षतिपूर्ति

बुटवल अस्पताल लाइनमा फलफुल बेच्ने क्रममा नगर प्रहरीले दुर्व्यवहार र ज्यादती गरेको घटनाका पीडितलाई बुटवल उपमहानगरपालिकाले घटनाप्रति माफी माग्दै ५ हजार रुपियाँका दरले क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेको छ ।

इन्सेक अनलाइनमा ०८१ साउन २० गते ‘फुटपात व्यापारी महिलालाई नगर प्रहरीले दुर्व्यवहार गरेको आरोप‘ शीर्षकमा समाचार प्रकाशित भएको थियो । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पीडितहरूलाई आफ्नो कार्यकक्षमा राखेर घटना दुखद् भएको र यस्ता घटनाहरू नदोहोर्‍याउने गरी पीडितलाई क्षतिपूर्ति (जरिबाना) वापतको ५/५ हजार रुपियाँ जनही उपलब्ध गराएको जानकारी दिनुभयो ।

छलफलका क्रममा नगर प्रमुख पाण्डेले स्थायी रूपमा बसोवास गरेको वा बसाइँसराइ लिएको अवस्थामा मात्र उपमहानगरपालिकाले व्यवसायको वैकल्पिक व्यवस्था गर्न सक्ने भन्दै १०/१५ दिनभित्र गर्ने तर व्यवसायका लागि अस्पताल अगाडि भिडभाड गर्न नपाइने र अस्पताल क्षेत्रभित्र व्यवस्थापन गर्न नसकिने बताउनु भयो ।

पीडित महिलाहरूले बुटवलको अस्पताल लाइनमा डोकोमा फलफुल तरकारी बेच्दा नगर प्रहरीले दुर्व्यवहार गरेको, सामान डोकोमा राखेर हिँड्दा समेत लखेटी–लखेटी सामान खोसिदिएको र आफूहरूलाई जबर्जस्ती लछार पछार गर्दै लुगा च्यातिदिएको बताएका थिए ।

पीडितले नगर प्रहरीले लखेट्दा आफूको खुट्टा भाँचिएको र अप्रेशनका लागि आठ दिनसम्म अस्पताल बसेको रड हालेको औषधि उपचार गरेको २/३ लाख खर्चभएको भन्दै ५ हजार लिन अस्वीकार गरेको तर पनि अन्य साथीहरूले सम्झाएका कारण लिएको बताउनु भयो ।

अन्य

भिडियो