वर्षायाममा मौसम फेर बदल भएसँगै जिल्लाका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ सङ्क्रमणका बिरामीहरू बढ्न थालेपछि सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।
स्क्रब टाइफस उपियाँको टोकाइबाट मानिसमा सर्छ । यो रोग उपियाँमा पाइने ‘ओरेन्सिया’ जीवाणुबाट मानिसको शरीरमा प्रवेश गर्छ । यो किर्ना प्रायः घरपालुवा जनावर, झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडीमा रहने गर्दछ । ‘टाइफस’ र ‘स्क्रब टाइफस’ दुई स्टेजको हुन्छ । जुम्रा, लामखुट्टे लगायतले टोकेमा टाइफस हुने र उपियाँ, किर्नाले टोकेमा ‘स्क्रब टाइफस’ हुने चिकित्सकहरू बताउँछन् ।
चिकित्सकका अनुसार यो रोग सङ्क्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । स्क्रब टाइफस जीवाणु शरीरमा प्रवेश गरेको पाँचदेखि ६ दिनपछि व्यक्तिलाई कडा ज्वरो आउने, शरीर दुख्ने, रातो बिबिरा देखिने, ग्रन्थी सुन्निने लक्षण देखिन्छ । समयमै उपचार नगरे कलेजो, मिर्गौला, फोक्सो, मुटु लगायत अङ्गमा सङ्क्रमण फैलिइ बिरामीको मृत्यु समेत हुनसक्छ ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका ल्याव इन्चार्ज सुरेश श्रेष्ठका अनुसार आर्थिक वर्ष ०८०/८१ मा ४ हजार २ सय ९० जनाको जाँच गर्दा २ सय ५३ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ । त्यस्तै आर्थिक वर्ष ०७९/८० मा ३ हजार ७ सय ४२ जनाको स्क्रब टाइफस जाँच गर्दा ३ सय ३७ जना र अहिले मनसुन सुरु भएदेखि जेठ महिनाको अन्तिमदेखि साउन १४ गतेसम्म ६ सय ५२ जनाको जाँच गरेकोमा ८६ जनालाई स्क्रब टाइफस सङ्क्रमण भएको उहाँले बताउनु भयो । यो रोग प्राय गरेर कृषिजन्य काम गर्ने मानिस उच्च जोखिममा रहेको चिकित्सकको भनाइ छ । चिकित्सकको भनाइ अनुसार घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडी हटाएर जोखिम कम गर्न सकिन्छ । घाँस भएको भुइँमा सिधै बस्ने या पल्टिने क्रममा यो परजीवी छालामा टाँसिन सक्छ । खेतबारीमा जाँदा लामो बाहुला भएका लुगा लगाउने, खुट्टामा लामो बुट तथा हातमा पन्जा लगाउनुपर्छ ।
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोभिड–१९ र स्क्रब टाइफसका बिरामीमा देखिने केही लक्षण मिल्दोजुल्दो छन् । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, स्क्रब टाइफसको बिरामीमा ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा रातो बिमिरा देखा पर्ने लगायतका लक्षणहरू देखा पर्छन् । शरीरमा देखा परेको रातो बिमिराको वरिपरिको बिच भागमा कालो दाग देखिएमा स्क्रब टाइफसको सङ्क्रमण भएको हुन सक्ने डा. पुन बताउँनुहुन्छ । डा. पुनका अनुसार स्क्रब टाइफसको पहिचान गरी समयमै औषधि सेवन गरे यो रोग निको हुन्छ । तर समयमै उपचार नगरे यसले गम्भीर रूप लिएर मानिसको ज्यान समेत जान सक्ने उहाँको भनाइ छ ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकका अनुसार स्क्रब टाइफस आफैँमा खतरनाक रोग होइन । तर, समयमै रोग पत्ता नलाग्दा र औषधिको उचित प्रयोग नगरेमा बिरामीको ज्यान जाने खतरा हुनसक्ने भएकोले समस्या हुने बित्तिकै स्वास्थ्यककर्मीहरूको सल्लाह लिन उहाँले आग्रह गर्नुभयो । डा. पाठकले स्क्रब टाइफसको समयमै उपचार नभएमा फोक्सो, कलेजो, मस्तिष्क आदिमा असर पुर्याएर धेरै ओटा अङ्गमा एकै पटक असर पर्ने (मल्टी अर्गान डिस्फङ्सन) समेत हुनसक्ने भएकोले यसबाट बच्नका लागि खेतबारीमा काम गर्दा, वनजङ्गल, झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउनेमा जोड दिनुभयो ।