मौसममा फेर बदल भएसँगै जिल्लाका विभिन्न स्थानमा डेङ्गीको जोखिम बढ्न थालेपछि डेङ्गीबाट बच्नका लागि सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन् । रुपन्देहीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीहरूमा डेङ्गीको सङ्क्रमण देखिएपछि सावधानी अपानउन विभिन्न सचेतनाहरू गर्न थालिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका लागि आउने अधिकांश बिरामीहरूमा डेङ्गीसँग मेल खाने लक्षणहरू देखिएको र चेक जाँचका क्रममा डेङ्गीको सङ्क्रमण देखिएपछि यस्तो सुझाव दिइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहका अनुसार मनसुन सुरु भएदेखि जिल्लामा जेठ महिनादेखि साउन महिनासम्म ५३ जना डेङ्गीका बिरामीहरू भेटिएका छन् । वर्षादको समयमा बढी पानी पर्ने र खाडलहरूमा जम्ने भएकोले डेङ्गीका लामखुट्टेले फुल पार्ने लार्भाहरू हुर्काउने भएकोले यसबाट सचेत रहन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याव इन्चार्ज सुरेश श्रेष्ठका अनुसार मनसुन सुरु भए यता लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा असार र साउन १२ गतेसम्म १३ जना डेङ्गी सङ्क्रमण भएका बिरामीहरू भेटिएका छन् । वर्षासँगै डेङ्गी गराउने लामखुट्टे बढ्न थालेकाले सङ्क्रमण बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विशेष गरी बजार क्षेत्रमा जथाभाबी रूपमा फालिएका सामग्रीमा पानी जम्ने र त्यसबाट लामखुट्टेबाट रोग सार्ने जोखिम बढी हुने गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले मनसुन बन्द भएपछि घरवरिपरि र बजार क्षेत्रमा सफा पानी जम्मा हुने गमला, पानी ट्याङ्की, टायर, टिन जस्ता ठाउँमा डेङ्गु सङ्क्रमण गराउने लामखुट्टे पाइने भएकाले पानी जम्न नदिनका लागि घरवरिपरिको वातावरण सफा राख्ने, लाखुट्टेको टोकाईबाट बच्न पुरा वाउला भएका लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने हिँड्डुल गर्दा लामखुट्टे भगाउने खालका मलमहरूको प्रयोग गर्न आग्रह गर्नुभयो । डा. पाठकले नजिकै पानी जम्ने ठाउँहरू ताल तलैयाहरू छन भने किटनाशक औषधि छर्के लामखुट्टेको नष्ट गर्ने जस्ता कुराहरूमा ध्यान दिन आग्रह गर्नुभयो । डा. पाठकले डेङ्गी रोग लागेमा ज्वरो आउने, आँखाको गेडीहरू दुख्ने, शरीरमा डाबरहरू आउने, खाना नरुच्ने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, पेट गडबडी हुने जस्ता समस्याहरू हुने भएकोले यसबाट बच्न चिकित्सकसँग सल्लाह लिन आग्रह गर्नुभयो ।
डा. पाठकले डेङ्गीका लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्न र डेङ्गी पुष्टि भएका बिरामीले जथाभावी औषधि नखाने, झोलिलो खानेकुरा खाने, झुलको प्रयोग गर्ने, लामो बाहुला भएको कपडा लगाउने, घर वरपरको वातावरणमा पानी जम्न नदिने, लामखुट्टेको लार्भा विकास हुने स्थानहरू खोजेर नष्ट गर्ने, घरायसी प्रयोजन वा पिउनका लागि ड्रम, गाग्री वा अन्य भाडामा राखिएको पानी राम्रोसँग छोपेर राख्न सबैलाई आग्रह गर्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/८१ मा ६ हजार ७१ जनाको डेङ्गी जाँच गर्दा ४ सय ९५ जनामा डेङ्गी पोजेटिभ देखिएको थियो । त्यस्तै आ.व ०७९/८० मा ७ सय ४९ जनाको जाँच गर्दा १ सय ४१ जनामा डेङ्गीको सङ्क्रमण देखिएको, आ.व. ०७८/७९ मा ७ हजार ४ सय १८ जनाको जाँच गर्दा २ हजार ३ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।
सरकारले चार ओटा रणनीतिहरू नियमित निगरानी, खोज तलास गर्ने, समयमा नै निदान गर्ने र अभिमुखिकरण जस्ता अभियानलाई निरन्तरता दिँदै आएको छ । जिल्लाका सबै स्थानीय स्तरमा लामखुट्टेको पहिचान र रोकथामको काम गर्दै आएका छन् । नेपालमा पहिलो पटक चितवनमा २००६ सालमा डेङ्गीको सङ्क्रमण देखिए पनि पछिल्लो समयमा यसको सङ्क्रमण देशभरी नै फैलिएको छ ।