
नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष राजविराज नगरपालिका-८ का ४६ वर्षीय नवीन कुमार गुप्तालाई महादेवा गाउँपालिका-६ का २७ वर्षीय अभिषेक मण्डलले ज्यान मार्ने धम्की दिएको भन्दै महासंघले साउन १५ गते कारबाहीको माग गरेको छ ।
महासंघद्वारा साउन १५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार गुप्तालाई समाचार लेखेकै कारण ज्यान मार्ने धम्की दिने मण्डलमाथि कारबाहीको माग गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गजु सिद्धी ब्रजाचार्यसमक्ष पुगेको महासंघको टोलीले गुप्तालाई धम्की दिने मण्डललाई अविलम्ब गिरफ्तार गरी कारबाही गर्न ध्यानाकर्षण समेत गराएको छ । ध्यानाकर्षण पत्रमा आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि नबढाए चरणबद्ध संघर्षमा जान बाध्य हुने भनिएको छ ।
राजविराज दैनिक पत्रिकामा साउन ११ गते “महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन” शिर्षकमा समाचार प्रकाशन भएको थियो । गुप्ता राजविराज दैनिक पत्रिकाका प्रकाशक हुन् । गुप्ताका अनुसार मण्डलले साउन १४ गते राति ९ः१० बजे ९८१५७७६६८८ नम्बरको मोबाइल फोनबाट समाचारमा मेरो नाम किन जोडेको भन्दै ज्यान मार्ने धम्की दिए ।
यसैगरी नेपाल प्रेस युनियन सप्तरीले समेत पत्रकार गुप्तालाई धम्की दिनेमाथि कारबाहीको माग गरेको छ । युनियनका जिल्ला सह सचिब परिष कर्णले साउन १५ गते एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार गुप्तालाई धम्की दिनेमाथि कानुन अनुसार कारवाही गर्न माग गरिएको छ ।