INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सञ्जालमा जातीय अपमानजनक शब्द लेखेको आरोपमा शिक्षक गिरफ्तार

कर्णाली प्रदेश प्रमुख तिलक परियारको निजी सचिवालयका कर्मचारी नियुक्तिका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा अरुले लेखेको स्टाटसमा दलित समुदायप्रति अपमानजनक शब्द लेखेको आरोपमा प्रहरीले  महाबु गाउँपालिका–४ फागु गाउँ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गिताचौरमा अंग्रेजी विषयक शिक्षक ४२ वर्षीय तर्कबहादुर सिंह ठकुरीलाई साउन ११ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएको मुद्दाका सम्बन्धमा अदालतबाट आएको गिरफ्तार पूर्जीको आधारमा आरोपित शिक्षकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी  वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले निजी सचिवालयमा दलितहरु मात्र राखेको विषयमा महाबु गाउँपालिका–३ बाँसीका बिनोद बुढाले लेखेको फेसबुक स्टाटसमा  अपमानजनक शब्द लेखेको विषयमा जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले शिक्षक सिंहलाई गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालयमा साउन ८ गते दर्ता भएको ‘जातीय भेदभाव तथा छुवाछूत कसुर’ मुद्दाको सन्दर्भमा सुर्खेत जिल्ला अदालतबाट गिरफ्तार पूर्जी जारी भए अनुसार  शिक्षकलाई दुल्लूबजारको कर्णाली होटलबाट गिरफ्तार गरिएको थियो ।

सुर्खेत जिल्ला अदालतबाट गिरफ्तार पूर्जी अनुसार जिल्ला प्रहरी कार्यालय दैलेखसँगको समन्वयमा आरोपित शिक्षक साउन ११ गते  गिरफ्तार परेका थिए । प्रहरीले आरोपितलाई साउन ११ गते नै सुर्खेत पुर्याइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

आराेपितलाई साउन १३ गते मात्र सुर्खेत जिल्ला अदालतमा म्याद थपका लागि पुर्याइने सूचना अधिकारी प्रहरी डीएसपी विश्वकर्माले बताउनुभयो । कसुर ठहर भएमा जातीय भेदभाव तथा छुवाछूत गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र २ लाख रुपैंयाँसम्मको जरिबाना दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

अन्य

भिडियो