विराटनगर महानगरपालिका-४ इक्राहीकी ३८ वर्षीया जानकी मण्डलको हत्या घटनामा मुद्दा दर्ता गर्न माग गर्दै पीडित पक्षले जिल्ला सरकारी वकिलको कार्यालय घेराउ गरेको गरेको छ ।
मुद्दा दर्ताको माग गर्दै पीडित पक्षले ०८१ साउन ९ गते जिल्ला सरकारी वकिलको कार्यालय घेराऊ गरेको हो ।
पीडित पक्षले मुद्दा दर्ता नगरेको आरोपमा सरकारी वकिलको कार्यालयमा होहल्ला गरेपछि दुवै पक्षबिच साउन ९ गते मुद्दा दर्ताका विषयमा छलफल भएको मोरङका जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराईले बताउनु भयो । उहाँले पीडित पक्षको मुद्दा दर्ता हुने बताउनु भयो । जानकीदेवीको हत्या घटनामा प्रहरीले किटानी उजुरी दर्ता गर्न अस्वीकार गरेको पीडित पक्षले आरोप लगाउँदै आएको छ ।
पीडित पक्षले विराटनगरमा ०८१ साउन ७ गते पत्रकार सम्मेलन गरी हत्या घटनाका आरोपित विराटनगर महानगरपालिका-४ इक्राहीका ४० वर्षीय जानकीका पति दीलिप मण्डलविरूद्ध ०८१ जेठ ३० गते किटानी उजुरी दिँदा प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको पीडित पक्षको आरोप छ ।
आफूहरूले हत्या घटनाका आरोपितविरूद्ध किटानी उजुरी दिँदा सो उजुरी दर्ता नगरी प्रहरीले आत्महत्या दुरूत्साहनमा उजुरी दर्ता गराएको मृतकका ७१ वर्षीय बाबु सुकदेव मण्डलले बताउनु भयो । घटनाका आरोपित दीलिप मण्डलले जानकीको ०८१ जेठ २९ गते कुटपिट गरी हत्या गरेको भएपनि झुण्डिएर आत्महत्या गरेको भन्ने झुठो विवरण दिएको मृतकका बाबु सुकदेव मण्डलको भनाइ छ ।
छोरीको कुटपिट गरी हत्या गरेको आफूहरूले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा आरोपितविरूद्ध ०८१ जेठ ३० गते किटानी उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरी आत्महत्या दुरूत्साहनमा उजुरी दिएको पीडित पक्षको भनाइ छ ।
प्रहरीले हत्यामा नभइ आत्महत्या दुरुत्साहनमा उजुरी लिए पनि जिल्ला सरकारी वकिलको कार्यालयले ०८१ असार २३ गते मुद्दा नचल्ने भनि अदालतमा मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो ।
अदालतमा मुद्दा दर्ता नभएपछि न्याय माग्दै विभिन्न निकाय गुहार्दै आएका पीडित पक्षले साउन ९ गते सरकारी वकिलको कार्यालय घेराऊ गरेको मृतकका बाबु सुकदेव मण्डलले बताउनु भयो ।
पीडित पक्षको दबाबपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्ने सहमति भएको छ । मोरङका जिल्ला न्यायधिवक्ता सुवासकुमार भट्टराईले अदालतमा मुद्दा दर्ता हुने इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
इन्सेक प्रतिनिधिले पीडित पक्षको पत्रकार सम्मेलनपछि सरकारी वकिलको कार्यालयले किन ? मुद्दा दर्ता गर्न अस्वीकार गरेको भनि जिल्ला न्यायधिवक्ता सुवासकुमार भट्टराईलाई राखेको जिज्ञासामा भट्टराईले मुद्दा लेख्ने कर्मचारी नभएका कारण मुद्दा दर्तामा ढिलाई भएको तर, मुद्दा दर्ता गर्न अस्वीकार भने नगरेको बताउनु भयो ।
मुद्दा दर्ताको माग गर्दै साउन ९ गते जिल्ला सरकारी वकिलको कार्यालय घेराऊपछि पीडित पक्षसँग छलफल गरेर पठाइएको जिल्ला न्यायधिवक्ता सुवासकुमार भट्टराईले बताउनु भयो । उहाँले साउन १३ गते मुद्दा दर्ता हुने बताउनु भयो । मुद्दा लेख्ने काम भइरहेकाले साउन १३ गते सम्ममा मुद्दा दर्ता हुने भट्टराईले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई ०८१ जेठ ३० गते गिरफ्तार गरेपनि जिल्ला सरकारी वकिलको कार्यालयले हत्या वा आत्महत्या दुरूत्साहन शीर्षकमा मुद्दा दर्ता नहुने जनाएपछि आरोपितलाई प्रहरीले असार २३ गते रिहा गरेको थियो ।
जानकी मण्डलको शवको पोष्टमार्टम कोशी अस्पतालमा जेठ ३१ गते गरिएको थियो । पीडित पक्षले जेठ ३१ गते शव बुझी विराटनगर महानगरपालिका-४ स्थित केशलिया घाटमा सद्गत गरेको थियो ।
