INSEC Online

📅 २०८३ जेष्ठ २१

अविरल वर्षाका कारण सामाजिक सुरक्षा भत्ता बुझ्न जान ज्येष्ठ नागरिकहरूलाई सास्ती

जिल्लाको सुनछहरी गाउँपालिकामा अविरल वर्षाका कारण सामाजिक सुरक्षा भत्ता बुझ्न जान ज्येष्ठ नागरिकहरूलाई सास्ती भएको छ । सुनछहरी गाउँपालिकाले साउन ६ गतेदेखि १५ गतेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सूचना मार्फत जानकारी गराएको थियो । सामाजिक सुरक्षा भत्ता बुझ्न सात ओटा वडा मध्ये ६ ओटा वडाका ज्येष्ठ नागरिकहरू लामो दूरीको यात्रा गरेर सामाजिक सुरक्षा भत्ता बुझ्न पोवाङसम्म आउनुपर्ने बाध्यता रहेको छ ।

भौगोलिक हिसाबले जिल्लाकै विकट मानिने यस स्थानीय तहका अधिकांश वडाहरू स्थानीय तहको केन्द्रदेखि निकै टाढा पर्छन् । तर सामाजिक सुरक्षा भत्ता बुझ्न भने स्थानीय तहको केन्द्रसम्म आउनै पर्ने बाध्यताले स्थानीयहरूलाई सास्ती हुने गरेको छ । वर्षाको समयमा अधिकांश वडाहरूमा यातायातका साधनहरू नचल्ने समस्या छ । जसले गर्दा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूले लामो समय पैदल यात्रा गरेरै सामाजिक सुरक्षा भत्ता बुझ्न जाने गरेका छन् । अविरल वर्षाका कारण स्थानीय तहको केन्द्रसम्म जोडिने अधिकांश सडकहरूमा पहिरोले बाटो अवरुद्ध हुने गरेको छ ।

कम्तिमा एक दिनसम्म पैदलयात्रा गरेर बैङ्कसम्म पुग्नुपर्ने यहाँको बाध्यता नै हो । तर वर्षायाम भएकाले अधिकांश बाटोहरूमा पहिरोले बाटोहरू अवरुद्ध बनेका छन् । बाटोहरू अवरुद्ध हुँदा आफूहरूलाई पैदलयात्रा गर्नसमेत समस्या हुने सुनछहरी गाउँपालिका-३ का स्थानीय ८५ वर्षीय हस्ते घर्तिमगरले बताउनु भयो ।

बर्खाको समयमा बाटोहरू चिप्लो हुने तथा पहिरो खस्ने जोखिम समेत हुने भएकाले आफूहरूलाई सास्ती हुने गरेको उहाँको भनाइ छ । ‘बाढी पहिरोको डर त छँदै छ, झाडीको बाटो लामो पैदलयात्र गर्नुपर्ने भएकाले सर्पको डर तथा जुकाको हैरानी समेत खेप्नु पर्ने बाध्यता रहेको छ’, सुनछहरी गाउँपालिका-४ का स्थानीय ७५ वर्षीय रामसर घर्तीले उल्लेख गर्नुभयो । सामाजिक सुरक्षा भत्ता लिन स्थानीय तहमा जानैपर्ने बाध्यताको अन्त्य हुन सके आफूहरूलाई सहज हुने उहाँले बताउनु भयो ।

सुनछहरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बुझ्न सूची नै बनाएर वडाहरूलाई सामाजिक सुरक्षा भत्ता वितरणको समय निर्धारण गरेको छ । जसमा साउन ६ गतेदेखि सुनछहरी गाउँपालिका-६, फगामका स्थानीयहरूका लागि सुनिलस्मृति गाउँपालिका, सुलिचौरमा रहेको साङ्ग्रीला बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुने उल्लेख छ ।

यस्तै साउन ७ र ८ गते सुनछहरी गाउँपालिका-५, साउन ९ गते सुनछहरी गाउँपालिका-४, साउन १० गते ३ नम्बर वडा, साउन ११ गते २ नम्बर वडा, साउन १३ गते १ नम्बर वडा, साउन १४ गते र १५ गते सुनछहरी गाउँपालिकाको जेल्वाङका स्थानीयहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सुनछहरी गाउँपालिकाले सूचना मार्फत जानकारी गराएको छ । सुनछहरी गाउँपालिका-६ बाहेक सबै वडाका स्थानीयहरूले सामाजिक सुरक्षा भत्ता बुझ्न सुछहरी गाउँपालिकाको केन्द्र, पोवाङमा जानुपर्ने उल्लेख छ ।

Photo25072024Rolpa

Photo25072024Rolpa1

Photo25072024Rolpa

Photo25072024Rolpa2

अन्य

भिडियो