प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज कात्तिक ५ गते ३२ जिल्लामा उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो चरणमा निर्वाचन गरिने सबै जिल्लामा शान्तिपूर्ण रूपमा उम्मेदवार मनोनयन सम्पन्न भएको इन्सेक जिल्ला प्रतिनिधिहरू तथा इन्सेकका क्षेत्रीय कार्यालयहरूले जनाएका छन् ।
इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका अनुसार प्रदेश नम्बर ३ का दोलखा, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा आगामी मङ्सिर १० गते हुने पहिलो चारणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कात्तिक ५ गते शान्तिपूर्ण रूपमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
हिमाली र उच्च पहाडी जिल्लामा हुन लागेको पहिलो चरणको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरूमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूबाट उम्मेदवारी शान्तिपूर्ण रूपमा दर्ता भएको जिल्ला प्रतिनिधिहरूले जनाएका हुन् ।
पहिलो चरण अन्तर्गत मंसीर १० गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि पूर्वाञ्चल क्षेत्रमा पर्ने प्रदेश नम्वर एकको सातवटा जिल्लाहरूमा कार्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका अनुसार प्रदेश नम्बर १ का पाँचथर, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्वु जिल्लामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले बाजागाजासहित र्याली प्रदर्शन गर्दै उत्साहजनक रूपमा निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारहरूको मनोनयन दर्ता गरेका हुन् ।
पाँचथर जिल्ला प्रतिनिधि मङ्गल वेघाका अनुसार उम्मेदवारहरूले मनोनयनका क्रममा झाँकी सहितका र्याली प्रदर्शन गरेका थिए । यसैक्रममा र्याली र झाँकीमा बालबालिकाको समेत प्रयोग भएको पाइएको थियो । लिम्बुवान राज्यको माग राखेर पूर्वी नेपालमा गतिविधि सञ्चालन गरिरहेको सङ्घीय लिम्बुवान पार्टी नेपालले भने उम्मेदवार मनोनयन नगर्ने जनाएको छ । संविधान प्रति नै असहमति रहेको अवस्थामा सो संविधान अनुसार हुने निर्वाचनमा आफ्नो पार्टीको सहभागिता नरहने सो पार्टीका जिल्ला अध्यक्ष कमजराज नेम्वाङले बताए ।
भोजपुर जिल्ला प्रतिनिधि किरण राईका अनुसार उम्मेदवारको मनोनयनका लागि नेपाली काङ्ग्रेस र सङ्घीय समाजवादी फोरमका उम्मेदवारहरू काठमाडौँबाट हेलिकप्टर चार्टर गरेर भोजपुर पुगेका थिए ।
इन्सेक क्षेत्रीय कार्यालय पोखराका अनुसार प्रदेश नम्बर ४ का ६ ओटा जिल्लाहरूमा मनोनयन दर्ता शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । प्रदेश नं ४ का मनाङ, मुस्ताङ, लमजुङ, गोरखा, म्याग्दी र बाग्लुङ जिल्लामा कात्तिक ५ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता भएको हो ।
इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिं कार्कीका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरूले उल्लासपूर्णरूपमा मनोनयन दर्ता गराएका छन् । दार्चुलामा प्रतिनिधि सभा र प्रदेश सभाको लागि ३८ हजार ९ सय २७ महिला र ३९ हजार ५ सय ५८ जना पुरूष गरी कुल ७८ हजार ५ सय १२ जना मतदाता रहेका छन् । प्रदेश सभाको लागि क्षेत्र नम्बर क मा ४४ हजार ९ सय ८१ र क्षेत्र नम्बर ख मा ३३ हजार ५ सय ३१ जना मतदाता रहेका छन् ।
इन्सेक जाजरकोट जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठ, इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावल, हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शान्तिपूर्णरूपमा उम्मेदवारी दर्ता गरिएको छ ।
इन्सेक मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार एमाले र काङ्ग्रेसका कार्यकर्ताबिच झडप हुँदा पाँच जना घाइते भएका छन् । छायाँनाथ रारा नगरपालिका-७ बाट नारा जुलुस सहित आएको नेकपा एमाले र नेपाली काँग्रेस नेता कार्यकर्ता बिच झडप हुँदा पाँच जना घाइते भएका हुन् ।
दुवै समूहबिच नगरपालिका-४ मा पर्ने बुका खोला भन्ने स्थानमा भेट हुँदा विवाद भएको थियो । अगाडी रहेको नेपाली काङ्ग्रेसका कार्यकर्ताले एमालेको जुलुसलाई ढुङ्गा हानेपछि एमाले कार्यकर्ता छाँयानाथ रारा नगरपालिका-७ का ५५ वर्षीय चैते शाही, ३० वर्षीय हर्षबम र २५ वर्षीय रमेश शाही घाइते भएको एमालेले आरोप लगाएको छ । प्रतिकारमा एमालेका कार्यकर्ताले प्रहार गरेको ढुङ्गाबाट नेपाली काङ्ग्रेसका दुई जना कार्यकर्ता घाइते भएको जनाइएको छ । घाइतेहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमकिरण बोगटीले जानकारी दिए ।



























