INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले नहर बगाएपछि दुई सातादेखि २५ सय घरधुरीका नागरिक अन्धकारमा बस्न बाध्य

गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको गलकोट नगरपालिकामा ०८१ असार २१ गते परेको अविरल वर्षासँगैको बाढीले नहर बगाएपछि करिव २५ सय घरपरिवारका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । परोपकार लघु जलविद्युत परियोजनाको नहर बडिगाड खोलाले बगाउँदा करिव एक करोडको क्षति भएको छ ।

बाढीले नहर बगाएको करिव दुई हप्ता हुँदा पनि सञ्चालन गर्न नसकेका कारण गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको गलकोट नगरपालिकाका धेरै नागरिक अन्धकारमा बस्न बाध्य भएका छन । लामो समय विद्युत नहुँदा उज्यालोसँगै विद्युतबाट सञ्चालन हुने सबै मेसिनरी औजार तथा उपकरण अवरुद्ध छन् । सबै ठाउँमा विद्युतको केन्द्रीय प्रसारण लाइन बिस्तार भएको छैन ।

केन्द्रीय प्रसारण लाइन पनि भरपर्दो नभएको र लघु जलविद्युत अवरुद्ध भएका कारण असार मसान्तको बेला विद्युत नहुँदा मुसिकोट नगरपालिकालाई समेत सेवा प्रवाहमा ठूलो समस्या भएको थियो । केन्द्रीय विद्युत नियमित नहुँदा बैकल्पिक व्यावस्था गरेर सेवा अगाडि बढाएको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताउनु भयो ।

खरेलले संस्थागत रूपमा पनि नहर सञ्चालनको पहल गरेको र आफूहरूले पनि बाँध निर्माणमा सहयोग गर्न खोजे पनि खोलामा बाढी नै आइरहेकाले नसकिएको बताउनुभयो । परोपकार लघु जलविद्युत आयोजनाका पूर्व अध्यक्ष गोपिकृष्ण खरेलका अनुसार नहर बगाएपछि विद्युत अवरुद्ध हुँदा गुल्मीको मुसिकोट नगरपालिकका–१, २, ३, ७, ८ र बागलुङको गलकोट नगरपालिका–११ का गरेर २५ सय घरधुरी प्रभावित भएका छन् ।

परोपकार लघु जलविद्युत १ सय ३५ किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो । खोलाले लामो दुरीसम्मकै नहर बगाएपछि हिउँद नलागेसम्म मर्मत गर्न कठिनाई भएको संस्थाले जनाएको छ । लामो समय लघुविद्युत अवरुद्ध हुने र केन्द्रीय लाइन बिस्तार नहुने भएपछि स्थानीय नागरिक चिन्तामा परेका छन् । मुसिकोट नगरपालिका–२ का रमेश केसीले जनताको समस्याप्रति संस्था र स्थानीय सरकार गम्भीर भए नहर सञ्चालन गर्न सकिने बताउनु भयो ।

Photo19072024Gulmi

Photo19072024Gulmi1

अन्य

भिडियो