INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा असोज २९ गते बसेको आयोगको बैठकले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

सरकारले प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो । मङ्सिर १० र २१ गते गरी दुई चरणमा निर्वाचन गर्ने निर्णय अनुसार पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएकाले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

आयोगका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम-पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम-पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडी रहेका छन् । अहिले ती जिल्लाहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी आयोगले निर्वाचनसम्बन्धी कार्यसमेत सुरु गरेको छ । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आगामी कात्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ ।

अन्य

भिडियो