आपराधिक वा व्यक्ति व्यक्तिबिचको क्रियाकलापका घटना मानव अधिकारसँग सम्बन्धित नरहेतापनि त्यस्ता घटनहरूलाई मानव अधिकारसँग जोडिएर हेर्ने गरेकोले मानव अधिकारका बारेमा सचेतना फैलाउन आवश्यक रहेको इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा असोज २९ गतेदेखि सुरू भएको मानव अधिकार रक्षकसम्बन्धी तीन दिने तालिममा कार्यकारी निर्देशक गौतमले मानव अधिकारका बारेमा सबैले सचेत हुनुपर्ने बताएका हुन् ।

उनले मानव अधिकारसँग सम्बन्धित घटनालाई सचेत ढङ्गले अध्ययन गर्ने र त्यसको चुस्त दुरूस्त अभिलेख राख्नु पर्ने बताए ।
मानव अधिकार रक्षकका लागि सञ्चालित तालिममा मानव अधिकार, महिला तथा बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धि र कानुन, नेपालको संविधानमा रहेको मौलिक हक, मानव अधिकार रक्षकको काम कर्तव्य र अधिकारको विषयमा छलफल गरिने इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले बताए ।