INSEC Online

📅 २०८३ जेष्ठ २२

घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानको लागि इन्सेकको सहयोग

घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जानको लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।

रिब्दीकोट गाउँपालिका–३, खस्यौलीकी ३१ वर्षीया बिजु दङ्गाललाई ०८१ असार २१ गते इन्सेक पाल्पा जिल्ला प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रतिनिधि तारा कुँवर मार्फत न्यायिक प्रक्रियाका लागि १० हजार रुपियाँ हस्तान्तरण गर्नुभयो ।

पीडित दङ्गालले ०८१ असार १९ गते इन्सेक जिल्ला प्रतिनिधि समक्ष न्यायिक प्रक्रियाका लागि पराशर्म तथा आर्थिक सहयोग उपलब्ध गराइदिन निवेदन दिनुभएको थियो । इन्सेक पाल्पा प्रतिनिधि मार्फत इन्सेक प्रदेश कार्यालय नेपालगञ्जसँगको समन्वयमा उक्त रकम उपलब्ध गराइएको हो । ३१ वर्षीया दङ्गालका तीन जना छोरी छन् । उहाँले २०६८ सालमा रिब्दीकोट गाउँपालिका–३, खस्यौलीका जितबहादुर दङ्गालसँग अन्तरजातीय विवाह गर्नुभएको थियो ।

आफू दलित समुदायको भएकै कारण घरमा अहिलेसम्म भित्र्याउन नमानेको र छोरी जन्मेपछि हेला गरेको, २०७९ सालमा ससुराको मृत्यु भएपछि आफूलाई दलितको छोरी भनेर किरिया बस्न पनि नदिइएको उहाँले बताउनु भयो । दङ्गाल अहिले तीन छोरी सहित माइती घरमा बस्दै आउनुभएको छ । पतिले हेला गरेकै कारण आफूले छोरीहरूलाई शिक्षा दिक्षा दिन पनि साह्रै अप्ठेरो भएको उहाँले बताउनु भयो । सहयोग रकम बुझ्दै दङ्गालले अब आफू न्यायिक प्रक्रियाका लागि जाने बताउनु भयो ।

अन्य

भिडियो