INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारका कैदीबन्दीहरूमा दीर्घरोगीको सङ्ख्या बढ्दै

पाल्पा जिल्ला कारागारमा २ सय ६५ कैदीबन्दीहरू रहेकोमा ७२ जना कैदीबन्दीहरू दीर्घरोगी रहेका छन् ।

जिल्ला कारागारको बन्दी क्षमता ३ सय २५ जनाको छ । कारागारको क्षमता महिला १ सय ५० र पुरुष १ सय ७५ छ । जसमा महिला २० जना र पुरुष २ सय ४५ गरी जम्मा २ सय ६५ जना कैदीबन्दी रहेका छन् । एक जना चार वर्षीय आश्रित बालक छन् ।

जसमध्ये महिलातर्फ प्रेसरका बिरामी पाँच जना, सुगरको एक जना, थाइराइडको दुई जना र मानसिक बिरामी एक जना गरी नौ जना दीर्घरोगी रहेको पाल्पा कारागारका सि.अहेव गणेशप्रसाद गैरेले बताउनु भयो ।

त्यस्तै पुरुषतर्फ ४५ जना, सुगरका बिरामी सात जना, मानसिक बिरामी सात जना, दमका बिरामी दुई जना र हेपाटाइटिस सि का तीन जना गरी पुरुषतर्फ ६३ जना दीर्घरोगी रहेको गैरेले बताउनु भयो । दीर्घरोगी तथा मानसिक रोगीहरूलाई चौकीदार, नाइके तथा सह नाइकेको टोली बनाई विशेष स्याहर गर्ने गरिएको गैरेले बताउनु भयो ।

कारागारमा एक जना सि अहेवको दरबन्दीको रहेको छ । हप्ताको दुई पटक स्वास्थ्यकर्मीद्वारा जाँच गरी आवश्यक अवस्थामा अस्पताल लैजाने गरिएको, थप पोषण आवश्यक पर्नेलाई थप पोषणको व्यवस्था गरिएको, उपचारका लागि पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल तथा लुम्बिनी मेडिकल कलेजमा लैजाने गरिएको, औषधोपचार खर्चका साथै नियमित औषधि सेवन गर्नेहरूलाई कारागार प्रशासनले औषधि उपलब्ध गराउने गरेको, जटिल बिरामीहरूलाई आवश्यकता अनुसार काठमाडौँ सिफारिस गर्ने गरिएको सि अहेब गैरेले जानकारी दिनुभयो ।

कारागारका जेलर भगवान भक्त अर्यालले समय समयमा विभिन्न सङ्घ संस्थाहरूको समन्वय र सहयोगमा कारागारमा स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने गरिएको बताउनु भयो । बन्दीहरूसित बन्दीका आफन्तले हप्तामा दुई दिन भेट्न पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै हप्तामा चार दिन टेलिफोन गर्न पाउने गरी व्यवस्था मिलाइएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो