INSEC Online

📅 २०८३ जेष्ठ २१

उद्यमशील बन्दै पाल्पा कारागारका बन्दीहरू

पाल्पा कारागारका बन्दीहरू उद्यमशील बन्दै गएका छन् । पाल्पा कारागारका कैदीबन्दीहरूले कारागार भित्रै नाम्लो, दाम्लो बाट्ने, बत्ती कात्ने र गुडिया बनाउने कार्य गरेर आम्दानी लिँदै आएका छन् ।

आफूले सात वर्षदेखि कारागारमा नाम्लो बाटेर मासिक ५ हजार रुपियाँसम्म आम्दानी लिने गरेको बन्दी मनबीर श्रेष्ठले बताउनु भयो । काराागरमा ल्याइने चामल लगायत खाद्यन्नको बोरा उपयोग गरी नाम्लो बनाई बिक्री गर्ने गरेको उहाँले बताउनु भयो ।

अर्का बन्दी डिलबहादुर खाम्चाले पनि नौ वर्षदेखि नाम्लो दाम्लो बाटेर बेच्दै आएको बताउनु भयो । कारागारका बन्दीहरूले फुर्सदको समयलाई आय आर्जनमा लगाउँदै आएको उहाँले बताउनु भयो । बन्दीहरूले बनाएका नाम्लो तथा दाम्लोहरू तानसेन बजारका साथै बुटवल, चितवन र काठमाडौँमा बिक्री हुँदै आएका छन् । कतिपय बन्दीहरूले घरपरिवारका सदस्य मार्फत नाम्लो दाम्लो बनाउन बोरा लगायत आवश्यक सामाग्री मगाई सामान तयार भएपछि परिवारका सदस्य मार्फत बिक्रीका लागि बजार तथा गाउँगाउँमा पठाउने गरेका छन् । यसरी काम गरेबापत बन्दीहरूले मासिक रूपमा १० हजार रुपियाँसम्म फाइदा लिँदै आएका छन् ।

यसबाहेक यहाँका ५० जनाभन्दा बढी बन्दीहरूले नियमित रूपमा बत्ती कात्ने काम गर्दै आएका छन् । यसबाट उनीहरूको राम्रो आम्दानी हुने गरेको छ । महिलाहरूले गुडिया बनाएर बजार पठाउने गरेका छन् । बन्दीहरूले कारागारमा गरेको आम्दानीबाट कहिले काहीँ आफूलाई मन लागेको खानेकुरा किन्न र घर खर्च समेत पठाउने गरेका छन् ।

कारागारका जेलर भगवानभक्त अर्यालले बन्दीहरू उद्यमशीलतातर्फ प्रेरित भएको र उनीहरूको यो कार्यमा कारागार कार्यालयको तर्फबाट पनि सहजीकरण गर्दै आएके बताउनु भयो । बन्दीहरू मध्ये १० जनाले नाम्लो बुन्ने, दुई जना महिलाले गुडिया बनाउने र १ सय जनाभन्दा बढीले बत्ती काट्ने काम गर्दै आएको जेलर अर्यालले बताउनु भयो ।

जिल्ला कारागारको बन्दी क्षमता ३ सय २५ जनाको छ । कारागारको क्षमता महिला १ सय ५० र पुरुष १ सय ७५ छ । जसमा महिला २० र पुरुष २ सय ४५ गरी जम्मा २ सय ६५ जना बन्दी रहेका छन् । एक जना आश्रित बालक पनि रहेको र बालकलाई स्थानीय विद्यालयमा अध्ययनको वातावरण मिलाइएको प्रमुख अर्यालले बताउनु भयो ।

Photo01072024Palpa

अन्य

भिडियो